PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशको बजेट : स्वास्थ्य क्षेत्रको पूर्वाधार र उपकरणलाई प्राथमिकता, कोभिड-१९ खोप कोष स्थापना



निशा गुरुङ

वाग्मती प्रदेशको बजेट : स्वास्थ्य क्षेत्रको पूर्वाधार र उपकरणलाई प्राथमिकता, कोभिड-१९ खोप कोष स्थापना

हेटौँडा : वाग्मती प्रदेश सरकारकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब विनियोजन भएको छ। चालुतर्फ ४५ प्रतिशत, पूँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत रहेको छ। प्रदेश सरकारले कोभिड नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रको पूर्वाधार र उपकरणलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ। विगतका योजनाहरु सम्पन्न गर्नका लागि समेत बजेट विनियोजन गरिएको छ।

प्रदेश प्रमुख कोभिड-१९ खोप कोष स्थापना गर्नको लागि बजेट छुट्याइएको छ। संघीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न २ अर्ब रुपैयाँ विनियोजित गरेको छ।

साविकको ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई’ खारेज गरी कोभिड-१९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य सहित ‘प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुनर्स्थापना साझेदारी कार्यक्रम’का लागि २ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ। यसैगरी, उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।

‘मेरो गाउँ : उद्यमसहित जिउँने ठाउँ’ भन्ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको उल्लेख गरिएको छ।

कोभिड-१९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पूँजी र सीप, त्यहाँ युवाको हित’ भन्ने सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम बजेटमा उल्लेख छ।

 

कोरोनाका कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजारको दरले रकम उपलब्ध गराउने र अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिने बजेटमा व्यवस्था गरिएको छ। यसैगरी मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमलाई नसर्ने रोगको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरी सञ्चालन गर्न २२ करोड बजेट विनियोजन गरिएको छ।

खेलकुद क्षेत्रका निम्ति निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न २९ करोड बजेट विनियोजन गरिएको छ। ‘किसानका गह्रा : सधैँ हराभरा’ भन्ने नारासहित ‘सुख्खाटार लिफ्ट सिँचाइ क्षेत्र विशेष कार्यक्रम’लाई निरन्तरता दिँदै २५ वटा लिफ्ट सिँचाइ योजना निर्माण कार्य अघि बढाउन र निर्माणाधीन तथा सम्पन्न भइसकेका भूमिगत स्यालो तथा डिप ट्युवेल सिँचाइ आयोजनाहरुमा सोलार प्रणाली जडान कार्यको लागि बजेट व्यवस्था गरिएको छ।

यसैगरी, प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङ मार्गको निर्माण कार्य संघीय सरकारको समेत सहलगानीमा निर्माण गर्ने गरी ७५ करोड बजेट विनियोजन गरिएको छ।

‘मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रम’ अन्तर्गत प्रदेशको मुख्य आर्थिक तथा बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य महत्त्वका स्थलहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग तथा बाईपास जस्ता आयोजनाहरुका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ।

‘प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना’ मार्फत वाग्मती प्रदेशको राजधानी हेटौँडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै, वातावरणमैत्री ‘विद्युतीय बस’ र ठूला सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापन गरी यातायात सेवालाई सर्वसुलभ, विश्वसनीय र मितव्ययी बनाउन प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड मार्फत कार्यान्वयन गर्ने गरी नेपाल सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा सञ्चालन गर्न ५० करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले आफनो मातहतमा सञ्चारमाध्यमहरु सञ्चालन गर्नका लागि १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell