PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

अविरल वर्षाका कारण गण्डकी प्रदेशको जनजीवन कष्टकरः अधिकांश सडकमा पहिरो, बस्ती जोखिममा



रिना थापा

अविरल वर्षाका कारण गण्डकी प्रदेशको जनजीवन कष्टकरः अधिकांश सडकमा पहिरो, बस्ती जोखिममा

पोखराः  सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। पानी पर्ने क्रम जारी रहँदा स्थानीय प्रशासनले सतर्क रहन सर्वसाधरणलाई आग्रह समेत गरेको छ।

वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको बहावले मनाङ नासो गाउँपालिका -१ मा पर्ने तालगाउँ डुबानमा परेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँका ६० घर डुबानमा परेका हुन्। स्थानीयहरु घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति भने नभएको प्रजिअ लामिछानेले बताए।

डुबानबाट विद्यालय र वडा कार्यालय पनि प्रभावित भएको छ। त्यस्तै मनाङ सदरमुकाम चामेस्थित तातोपानी कुण्ड नजिकैको बस्तीमा समेत बाढी पसेको छ। बाढीले चामे गाउँपालिका -१, तिमाङ खोलाको बेलिब्रिज र ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृहमा क्षति पुर्‍याएको छ। मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत खरखरे भीरको सडक पहिराले बगाएको छ। सडक अहिले अवरुद्ध छ ।

यस्तै कास्कीमा अविरल वर्षाका कारण आएको बाढीले मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रोपावरमा क्षति पुगेको छ।

बाढीले २ वटा जेसीबी एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरू, जेनरेटर लगायतका सामग्रीहरूमा क्षति पुगेको छ। बाढीका कारण करिब २० करोड बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए।

यस्तै अन्नपूर्ण गाउँपालिका -६ हाइजुङमा पहिरोका कारण नयाँ पुल र घान्द्रुकतर्फको विद्युत् लाइन पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै ज्ञानोदय आधारभूत प्राथमिक विद्यालयको भवन र ४ जना परिवार संख्या रहेको १ घर जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ। नयाँ पुल घान्द्रुक सडकखण्ड समेत अवरुद्ध छ। यस्तै, अन्नपूर्ण गाउँपालिका -७ बिरेठाँटीस्थितमा मोदी खोलाको बहाव बढ्दा १५ जना बसोबास गर्ने ६ घरहरू जोखिममा रहेको जनाइएको छ।

+++

लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनामा बाढी पसेको छ। मंगलबार दोर्दी खोलामा बाढी आउँदा आयोजनाको बाँधस्थल भरिएर सुरुङ तथा पार्किङस्थलमा बाढी पसेको हो।

वर्षाका कारण म्याग्दीको कालीगण्डकी र म्याग्दी नदीको तटीय क्षेत्रका अधिकांश बस्ती जोखिममा परेका छन्। धवलागिरि गाउँपालिका -२ खोरियामा पहिरोको उच्च जोखिममा परेका १३ र मंगला गाउँपालिका -२ तल्लो डडुवामा एक परिवारलाई स्थानान्तरण गरिएको छ। लगातारको वर्षासँगै बस्ती नै पहिरोको जोखिममा परेपछि खोरियाका १३ घरपरिवारलाई गाउँमा रहेको विद्यालयमा अस्थायी रूपमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले जानकारी दिइन्। अध्यक्ष पुनका अनुसार सोही वडाको लमसुङमा करिब ४५ घरधुरी उच्च जोखिममा छन्। वर्षाले जिल्लाभरको जनजीवन अस्तव्यस्त बनाएको छ।

वर्षाकै कारण पश्चिम म्याग्दीको बेनी-दरबाङ सडक अवरुद्ध भएको छ। गएरातिको वर्षाले बेनी नगरपालिका-४, तातोपानीको घुमाउने ताल नजिकै सडक अवरुद्ध भएको हो। पश्चिम म्याग्दीलाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर लम्बाइको बेनी-दरबाङ सडकका विभिन्न खण्डमा झरेको पहिरोका कारण आवतजावतमा समस्या छ। सडक अवरुद्ध हुँदा मंगला, मालिका र धवलागिरि गाउँपालिकामा आवतजावत रोकिएको छ।

त्यस्तै भीषण वर्षाले गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी-जोमसोम-कोरला सडकखण्ड अस्तव्यस्त भएको छ। केही दिनयताको वर्षासँगै सडक खण्डमा बग्ने खोलामा बहाव बढेपछि म्याग्दी र मुस्ताङ खण्ड मंगलबार बिहानदेखि अवरुद्ध छ। निरन्तरको पहिरोमा फसेका सवारीसाधन निकाल्न समस्या भएको बेनी-जोमसोम-कोरला सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

यता पोखराबाट धौलागिरिको चार जिल्ला जोड्ने भूपी शेरचन राजमार्ग पनि पहिरोले अवरुद्ध छ। पर्वतको कुस्मा-२ सहस्त्रधारामा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।

नवलपरासी (पूर्व) विनयीत्रिवेणी गाउँपालिका -२ दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै पहिरो खस्दा पूर्व-पश्चिम राजमार्ग समेम मंगलबार केही समय अवरुद्ध भएको थियो। अहिले राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell