हेटौँडा : वाग्मती प्रदेश सरकारकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्।
बजेटबारे टिप्पणी गर्दै नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदिय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले वाग्मती प्रदेश सरकारले औचित्यहिन बजेट ल्याएको आरोप लगाए।
जमरकट्टेलले जनताको आशा अपेक्षा अनुसार केहि बजेट नआएको भन्दै सरकारले गर्नपर्ने काम मात्रै पूरा गरेको बताए।
‘जनताको लागि भनेर लडाइँ गर्छौँ, तर जनताकै हितविपरित बजेट ल्याउने सरकारको कुनै आवश्यक छैन,’ उनले भने।
त्यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले आर्थिक वर्ष २०७८/७९ को बजेट वाग्मती प्रदेशका जनताको निरासाको प्याकेजको रुपमा आएको बताए। उनले सुरुङमार्ग बनाउने योजनालाई १७ करोड बजेट छुट्याएर सुरुङमार्ग नबन्ने उनले दावी गरे।
उनले भने, ‘कोभिडको खोप कहिलेसम्म आउँछ त्यसको ठोस् कुरा भएको छैन, गाउँबस्तीमा बसेर अहिलेको अवस्थामा काम नपाएको बेलामा तिनिहरुलाई कुनै प्याकेज आएको छैन, बजेट गरिबमुखी भएन।’
