PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश २ को बजेटमाथि नेताहरुको टिप्पणी : प्रचारमुखी मात्र छ, कार्यान्वयन गर्न चुनौती



पहिलोपोस्ट

प्रदेश २ को बजेटमाथि नेताहरुको टिप्पणी : प्रचारमुखी मात्र छ, कार्यान्वयन गर्न चुनौती

जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। प्रदेश २ सरकारले ल्याएको बजेटमा पुरानै कार्यक्रम, प्रचारमुखी भएको नेताहरुले टिप्पणी गरेका छन्।

सत्तारुढ दल जसपा महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले सरकारले ल्याएको बजेट वितरणमुखी बजेट रहेको बताए। उनले सरकारको साथी बनेको नेपाली कांग्रेसलाई खुशी पार्नका लागि यस प्रकारको बजेट ल्याइएको आरोप समेत लगाए।

उनले भने, ‘प्रदेश सरकार नेपाली कांग्रेस केही दिन अगाडि मात्रै प्रवेश गरेको छ, आफ्ना नयाँ साथीलाई खुशी पार्नु पर्‍यो नि, साथीलाई खुशी पार्ने खालको यो बजेट हो।’

साहले सरकारले आज ल्याएको बजेट चालु आर्थिक वर्ष जस्तै रहेको समेत बताए।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगत प्रसाद यादवले सरकारले ल्याएको बजेट सकारात्मक रहेपनि कार्यान्वयन गर्नमा चुनौती रहेको बताए।

यादवले भने, ‘गत वर्षको झै यस वर्षको बजेटपनि ठिकै छ। तर, कार्यान्वयन गर्ने पक्ष नै फितलो छ।’

यस्तै, माओवादी केन्द्रका अर्का प्रदेशसभा सदस्य दिलीप साहले सरकारले ल्याएको बजेट वितरणमुखी बजेट रहेको आरोप लगाए। उनले यस बजेटमा पुरानै कार्यक्रमलाई बढी प्राथमिकताका साथ समावेश गरिएको समेत बताए।

उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेट परम्परागत बजेट हो, बजेटमा कुनै नयाँ कार्यक्रम समावेश गरिएको छैन, न जनतालाई अनुभूति हुने खालका कुनै कार्यक्रम समावेश गरिएको छ।’

एमालेका प्रदेशसभा सदस्य मञ्जु यादवले बजेट कार्यान्वयन हुनेमा शंका व्यक्त गरिन्। उनले बजेटमा परम्परागत शैलीलाई निरन्तरता दिइएको र प्रचारमुखी बजेट ल्याइएको आरोप लगाइन्।

‘यस प्रकारको बजेटले जनतालाई प्रत्यक्ष लाभ हुनै सक्दैन, प्रदेश सरकारले प्रचारमुखी बजेट मात्रै ल्याएको हो’, यादवले भनिन्, ‘यदि यसखालको परम्परागत नीतिलाई सरकारले सच्याएन भने प्रदेश सरकारले लिएको मधेस समृद्धिको नारा कहिले सफल हुन सक्दैन।’

एमालेका अर्का प्रदेशसभा सदस्य गोबिन्द न्यौपानेले सरकारले ल्याएको यो छरिएको बजेटले विकासको कुनै काम हुन नसक्ने दाबी गरे।

‘यो बजेट कर्मकाण्डी छ, खालि छरिएको बजेट छ’, नयौपानेले भने, ‘यो बजेट छरिएको बजेट भएकोले कुनैपनि क्षेत्रमा राम्ररी काम हुन सक्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell