PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’



पहिलोपोस्ट

मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’

काठमाडौंः सिन्धुपाल्चोकको मेलम्ची खोलामा एक्कासी पानीको बहाव बढ्दा भीषण बाढी आएको छ। बाढीले तटीय क्षेत्रका केही बस्तीमा क्षति पुर्‍याएको  स्थानीय प्रशासनले जनाएको छ। साँझ परेपछि पहिरो गएकाले भौतिक र मानवीक्ष क्षतिको विवरण आएको छैन। यद्यपि स्थानीयले हेलम्बुमा सात र मेलम्चीमा चार जना बेपत्ता भएको बताएका छन्। 

मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माणस्थलाभन्दा माथि निकै ठूलो पहिरो गएको स्थानीयले बताएका छन्। बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको कर्मचारी बस्नका लागि बनाएको टहरा लगायतको संरचना बगाएको छ। 

निरन्तर पानी परिरहे पनि मेलम्चीमा अनपेक्षित रुपमा बहाव बढेको हो। बाढीका कारण हेलम्बु गाउँपालिका वडा नम्बर १ र २ मा दुई सयभन्दा बढी घर जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकार बाबुराम खनालले बताए। मानवीय क्षतिबारे कुनै जानकारी स्थानीय प्रशासनलाई प्राप्त नभएको उनले बताए। 

खनालले भने, ‘पानी निरन्तर रुपमा आइरहेको थियो । जसरी अकास्मात रुपमा पानीको बहाव बढ्यो कारण अरु नै हो कि भन्ने पनि देखिन्छ । तर, यकिन भइसकेको छैन। एक्कासी पानीको बहाव बढेको हो । हेलम्बु गाउँपालिकाका वडा नम्बर १ र २ क्षति पुगेको जानकारी प्राप्त भएको छ। मानवीय क्षतिबारे अहिलेसम्म प्रशासनमा जानकारी छैन।’

हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बो लामाले भने मेलम्चीको सुरुङमा पठाइएको पानी मंगलबारबाट खोलामा खसालिएकाले बहाव बढेको दाबी गरेका छन्। उनले बाढी ठूलो धनजनको क्षति पुर्‍याएको बताए। 

लामाले भने, ‘‘पाँच बजे सुरुङ खोलेर खोलापट्टि पानी पठाएछन्। त्यहीबेला ढ्याम साइडबाट पहिरो पनि झरेछ। ६ बजेबाट ठुलै बाढी गएछ। हेलम्बुको सात जना बेपत्ता छन्। मेलम्चीको चार जना बेपत्ता। स्थिति बेहाल छ। यो मेलम्ची खानेपानीको गल्ती हो। उद्धारको कुनै कुरा छैन।’
हेलम्बु १ का वडाध्यक्ष मिङ्मार लामाले बाढी अझै ठूलो भएको बताए। माछा फर्ममा काम गर्ने दुई जना बेपत्ता भएको जानकारी आफूले पाएको उनले बताए। 

लामाले भने, ‘अझै ठूलै छ बाढी। माछा फार्मका २ जना बेपत्ता भन्नेबाहेक अरु जानकारी छैन। कसैको फोन लागेको छैन।’ 
अविरल वर्षाका कारण सिन्धुपाल्चोकका सबै नदीहरुमा पानीको बहाव बढिरहेको छ। इन्द्रावती, मेलम्ची, सुनकोशीको तटीय क्षेत्रमा बसोबास गर्नेहरु माथिल्लो भेगमा पुगेका छन्। 

जल तथा मौसम विज्ञान विभागका अनुसार जलबिरेस्थित बलेफी खोला जलमापन केन्द्रमा अकास्मात जल सतह बढेको छ। नदीले खतरा तह पार गरेको छ। विभागले तटीय क्षेत्रहरूमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell