विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा अस्ट्रेलियाले जोर्डनमाथि जित निकालेको छ। कुवेतस्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले जोर्डनमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७७ औं मिनेटमा ह्यारी सोउटरको गोल अस्ट्रेलियाको जितका लागि निर्णायक बन्यो। खेलको ८७ औं मिनेटमा जोर्डनका मुसा-अल तामारी रेडकार्ड खाँदै बाहिरिँदा अन्तिम समयमा जोर्डन १० खेलाडीमा समेटिएको थियो।
जोर्डनमाथि जित निकालेको अस्ट्रेलियाले समूह बी मा अपराजित रहँदै २४ अंक जोडेर विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ भने एसिया कपमा स्थान सुरक्षित गरेको छ। त्यस्तै १४ अंक जोडेको जोर्डन दोस्रो स्थानमा छ। तेस्रो स्थानमा एक खेल खेल्न बाँकी रहेको कुवेत ११ अंकसहित रहेको छ। चौथो स्थानमा ६ अंक जोडेको नेपाल रहँदा पाँचौं स्थानमा अंकविहीन चाइनिज ताइपेइ छ। अब समूहको अन्तिम खेलमा कुवेत र चाइनिज ताइपेइ भिड्नेछन्।
