PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सेना र निजी कम्पनीको हेलिकोप्टरले थाले उद्धार उडान, घाइतेलाई धमाधम अस्पताल ल्याइँदै

सेना र निजी कम्पनीको हेलिकोप्टरले थाले उद्धार उडान, घाइतेलाई धमाधम अस्पताल ल्याइँदै

वसन्तराज उप्रेती/पहिलोपोस्ट


काठमाडौं : मेलम्चीमा गएको बाढीका कारण अलपत्र र घाइते भएका सर्वसाधरणको उद्धारका लागि बुधवार विहानैदेखि नेपाली सेना र निजी वायुसेवा कम्पनीका हेलिकोप्टरले उद्धार उडान सुरु गरेका छन्। 

भिषण बाढीका कारण डुबानमा परेका घरमै अलपत्र रहेका सर्वसाधरण र घाइतेको उद्धारका लगि बिहानै बाट हेलिकोप्टर परिचालन भइरहेको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। 

'नेपाली सेनाको हेलिकोप्टरसँगै यतिखेर विभिन्न संस्थाको पहलमा उद्धारका लागि निजी वायुसेवा कम्पनीको हेलिकप्टर परिचालन भइरहेको छ,' प्रवक्ता शर्माले भने, 'अलपत्र परेकालाई सुरक्षित ठाउँमा राखिएको छ। घाइतेलाई धुलिखेल अस्पतालमा ल्याएर उपचार गर्न सुरु गरिएको छ।'

उनका अनुसार नेपाली सेनाको हेलिकप्टरका अलावा सिम्रिक, श्री, कैलाश लगायत कम्पनीका हेलिकोप्टर उद्धार उडानमा परिचालित भएका छन्।

नेपाली सेनाको एमआई १७ बाट उद्धार सुरु गरिएको प्रवक्ता सन्तोषवल्लभ पौडेललले जानकारी दिए। उनका अनुसार मेलम्ची बजारमा पानीमा डुबेको घरको छतबाट तीन जनाको उद्धार गरिएको छ। 

कैलाश एयरले बिहान ३ जनालाई उद्धार गरेर काठमाडौं ल्याएको थियो। 'तीन जना घाइतेलाई काठमाडौं ल्यायौं। उहाँहरुलाई अस्पताल लगिएको छ,' कैलाश एयरका संचालक प्रतापजंग पाण्डेले पहिलोपोस्टलाई भने, 'अरुलाई धुलिखेल अस्पताल लगिएको छ। पूरा तथ्याङ्क त पाएका छैनौं तर अहिलेसम्म १५/१६ जनालाई हाम्रो हेलिकप्टरबाट धुलिखेल अस्पताल पुर्‍याइएको छ। अहिले पनि ल्याउनेक्रम जारी छ।'

साथै पहिरो र बाढी दुवैबाट प्रभावित अन्य क्षेत्रबाट पनि सेनाले हेलिकप्टरबाट उद्धार गरिरहेको उनले बताए। 'मेलम्चीमा दुई जना घरभित्रै फसेको भन्ने जानकारी आएको थियो। त्यसपछि हेलिकप्टर लिएर हाम्रो टोली पुग्दा अन्य एक जना पनि रहेछन्,' उनले भने, 'उहाँलाई पनि हामीलाई उद्धार गरेका छौं। अन्य ठाउँमा पनि अलपत्र भन्ने खबर आइरहेको छ। हामी उद्धारमा सक्रिय छौं।'

सिम्रिक एयरका क्याप्टेन विमल शर्मा सापकोटाका अनुसार भौतिक क्षति धेरै देखिए पनि मेलम्चीमा मानवीय क्षति कति भयो आँकलन गर्न सकिने स्थिति छैन। 'मानिसहरु हराइरहेका छन् भन्ने सुनिएको छ तर उनीहरुको अवस्था के हो भन्न सकिन्न,' पाइलट शर्माले भने। 
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले पानीको बिचमा परेका मानिसको उद्धार गरेको हो। 

'कतिपय घर डुबेको छ। त्यहाँबाट मानिसलाई डोरी लगाएर तानिएको छ। कतिपय घर पहिरोको जोखिममा छन्, त्यहाँबाट मानिस निस्किएका छन्,' उनले भने।

बिहान प्रभु एयरले एउटा फ्लाइट गरेको थियो उद्धारका लागि। प्रभुले मेलम्चीबाट काठमाडौंमा घाइतेलाई लिएर आएको प्रभु हेलिकप्टरका उप महाप्रवन्धक नवलकुमार राजलावतले जानकारी दिए।

त्यसैगरी श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिकहरुको उद्धार गरिएको छ।  



ट्रेन्डिङ पोस्ट

Ncell