PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

अविरल बगिरह्यो इन्द्रावती, भेलले भरियो घरका कोठा : मेलम्चीको दु:खका यस्ता छन् दृश्यहरू

नेत्र तामाङ/पहिलोपोस्ट


मेलम्ची : मानिसहरुको भिड छ - मेलम्चीटारमा। बजारको यो तल्लो भेगमा घरहरु जमिनमुनि छिरे झै अनुभूति हुन्छ। सग्ला घरका दुई तल्लासम्म जमीन मुनि पुगेजस्तै लाग्छ। 

लगातारको वर्षाले मेलम्ची नदी र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको स्वरुप फेरेको छ। भूगोल नै फरक बनाउनेगरी बालुवाका तह र हिलोको लेदोले यहाँको अवस्था नाजुक देखाउँछ। 

बनिसकेका घर हुन् कि बन्दै गरेका, कोठाहरु हिलो र बालुवाले भरिएका छन्। ती हिलो र बालुवासँगै पुरिएका छन् धेरैका सपनाहरु। घरका सामान ओसार्न भ्याएनन् मानिसहरुले, ज्यान जोगाउन सक्नु ठूलो बन्यो।

आज बिहानैदेखि उद्धार सुरु त भएको छ तर मेलम्ची छेउको इन्द्रावती अविरल बगिरहेको छ। कञ्चन पानी बग्ने नदीमा यतिखेर माटोको लेदो उत्तिकै छ। भेल केही घटेको स्थानीयले बताएका छन् तर पनि इन्द्रावतीको कुरुप रुप देखिन्छ यहाँ। 

घर जमिनमुनि पसे झै लाग्छ। सडक पुरिएको छ। नदीभन्दा तीन सय मिटर वरसम्मै पानी पसेर तहसनहस पारेको छ। बस्ती बिग्रेको ठाउँमा खेतबालीका के कुरा? सबै बगरमा रुपान्तरित भएको छ। रातभरको झरीले मानिसहरुको बिल्लिवाठ गराएको छ। इन्द्रावतीको यो भेलले न गरिव देख्यो न धनी, सबैतिर तहसनहस पारेको छ। 

मेलम्चीलाई इन्द्रावती गाउँपालिका र सदरमुकाम नै जोड्ने बजार छेउको पुल बगाएको छ। सहज मेलम्ची अब फेरि इन्द्रावतीका मानिसका लागि दुर्गम बन्ने निश्चित छ। मेलम्चीमा बन्दै गरेको कवर्ड हल पूरै डुबेको छ। यहाँ रहेको आमा ह्याल्मो बसपार्क लेदोलो पूरै ढाकिएको छ।

पार्क र आराम गर्ने ठाउँको अस्तित्व कतै देखिन्न। मानिसहरु बचेका सामान जोगाउने धुनमा छन्। कति क्षति भयो, कति गुम्यो अनुमान गर्न सक्दैनन् उनीहरु। यतिखेर बाँच्न कसरी सकिन्छ भन्नेमै छन् उनीहरु। 



ट्रेन्डिङ पोस्ट

Ncell