यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो।
पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले अग्रता बनाएको थियो। खेलमा राम्रो पकड बनाएको रसियाले दोस्रो हाफमा पनि राम्रा अवसरहरु सिर्जना गरेको थियो। यद्यपि दोस्रो हाफमा दुबै पक्षले गोल गर्न नसक्दा रसियाले १-० ले खेल आफ्नो पक्षमा पार्यो।
यसअघिको खेलमा बेल्जियमसँग फराकिलो पराजय ब्यहोरेको रसियाको प्रतियोगितामा पहिलो जित हो भने डेनमार्कलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्न सफल फिनल्याण्डको पहिलो हार हो।
आजै हुने दोस्रो खेलमा टर्की र वेल्स आमनेसामने हुनेछन्। उद्घाटन खेलमा इटलीसँग फराकिलो अन्तरले पराजय ब्यहोरेको टर्की पहिलो जितको खोजीमा रहनेछ भने आफ्नो पहिलो खेलमा स्वीजरल्याण्डसँग १/१ को बराबरी खेलेको वेल्स स्पस्ट तीन अंकको खोजीमा हुनेछ। बाकु इन्टरनेशनल स्टेडियममा यी दुई टोलीबीचको खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। यो खेलमा ३० हजारको हाराहारीमा दर्शकको उपस्थित रहने अनुमान गरिएको छ।
त्यस्तै भरे राति हुने तेस्रो खेलमा समूह 'ए' कै इटली र स्वीजरल्याण्ड भिड्नेछन्। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा हुने खेल राति पौने १ बजे सुरु हुनेछ। इटलीले उदघाटन खेलमा टर्कीलाई ३-० को फराकिलो गोलअन्तरले हराएको थियो भने स्वीजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो।
