काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले बाढी पहिरोको कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै यथाशीघ्र धनजनको सुरक्षामा परिचालन हुन प्रदेश सरकारलाई आग्रह गरेको छ।
कांग्रेसले बाढी प्रभावित क्षेत्रका जनतालाई अस्थायी बास र राहतको काम तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग समेत गरेको छ। राहत र उद्धारका लागि स्थानीय प्रशासनको समन्वयमा परिचालित हुन नेपाली कांग्रेसका प्रभावित क्षेत्रका नेता, कार्यकर्ताहरुलाई संसदीय दलले अनुरोध गरेको छ।
प्रदेशभर हुन सक्ने सम्भावित विपदको पूर्व तयारी गर्न प्रदेश सरकार र मातहतका निकायलाई नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले अपिल गरेको छ।
अविरल वर्षाका कारण वाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लाका मेलम्ची र ईन्द्रावती खोलामा आएको भिषण बाढीले ठूलो धनजनको क्षति भएको छ। बाढीले सिन्धुपाल्चोकको तिम्बु बजार, तालामाराङ बजार, मेलम्ची बजार, चनौटे बजारलगायतका स्थानलाई ब्यापक क्षति पुर्याएको छ।

