PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

साथीको फोन कलले जोगियो मेलम्ची किनाराका मछिन्द्रको परिवार



नेत्र तामाङ

साथीको फोन कलले जोगियो मेलम्ची किनाराका मछिन्द्रको परिवार

मेलम्ची खोलाको किनारमा घर थियो उनको। चार तल्ले घर। घरमा होटल सञ्चालन गर्ने उनी। बुधबार मेलम्चीटारको विश्रामस्थलमा भेटिएका उनले आफ्नो घरको छत देखाउँदै भन्दै थिए, 'ऊ त्यो हजुर एउटा मात्र पहेँलो ट्यांकी भएको।'

उनको चार तल्ले घरको एक तल्लामात्र देखिन्थ्यो। त्यही घर हेरेर टोलाइरहेका थिए मछिन्द्र श्रेष्ठ।

दैनिक घरधन्दा गर्दै आएका मछिन्द्रलाई हिजो साढे सात बजे एउटा फोन आयो। ती मित्रले हाइ-हेल्लो नभनी उनलाई आग्रह गरिहाले मछिन्द्रजी तपाईं त्यहाँ नबस्नुस् घर छोडेर भाग्नुस्।

खोला अलीअली बढेको महसुस उनले पनि गरेका थिए। जब ती मित्रको फोन आयो उनी उक्लिए मेलम्ची टारतिर। परिवारका सबैलाई हतारहतार घरबाट निकाले। 'भागौँ बाढी आयो' बाहिरतिरका छिमेकमा पनि होहल्ला गर्दै उनी दौडे। भाग्दाभाग्दै खोला माथिमाथि आएको थियो।

बास मेलम्चीको इन्द्रेश्वरी माविमा भयो। राति तीन बज्दा मेलम्ची बजार बगरले भरेको उनले बताए।

श्रीमती, एक छोरा र एक छोरी रहेको मछिन्द्रको इन्द्रावती खोला पारि सिटी पार्क नजिकै खेत पनि थियो। खेत पनि कता पुग्यो उनले पत्तो पाएका छैनन्। ५० मुरी धान आउने खेत बगाएको सुनाउँदै मछिन्द्रले दुबै हात फैलाएर भने : अब सुकुम्बासी भएँ हजुर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell