PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

जब मेलम्ची र याङ्ग्रीको बाढी दोभानमा मिसिए, अनि सुरु भयो वितण्डा

जब मेलम्ची र याङ्ग्रीको बाढी दोभानमा मिसिए, अनि सुरु भयो वितण्डा

नेत्र तामाङ/पहिलोपोस्ट


मेलम्चीः हिजो घाम डुबेपछि बाढीले मेलम्ची बजारमा वितण्डा मच्चाउन शुरु गरेको थियो। तर मेलम्चीका मानिसहरुलाई भने गड्याङगुडुङ गरिरहेको इन्द्रावती खोलाको बाढीले सुत्न दिएन।

निद्रा आवोस् पनि कसरी? जीवन भरको पसिना बगाएर सिञ्चित गरेको सम्पत्ति खोलाले बगाउँदै थियो।

किनारातिर घर भएका मछिन्द्र श्रेष्ठ राति पनि बेला-बेला केही देखिन्छ कि भनेर आफू शरण परेको स्कुलको छतबाट तलतिर हेर्थे। तर कालो रातले उनको खबरलाई छेकेको थियो। जब उज्यालो भयो। बाढीले उनको चार तल्ले घरको एक तलामात्र बाँकी राखेछ।

बाँकी त सबै बगरसँग सम्याएछ।

उनीमात्र हैनन् मेलम्चीमा उदास अनुहार लिएर बगरतिर हेर्नेको लाइन थियो मेलम्चीटारको डाँडोमा।

मंगलबार साँझबाट मेलम्ची त्रसित थियो।

दहिनेतिरबाट मेलम्ची खोला, देब्रेतिरबाट याङ्ग्री खोला। दुई खोला जोडेको दोभानको केही तल हो मेलम्ची बजार। दुई खोला जोडेपछिको खोलाको नाम हो इन्द्रावती। यही इन्द्रावतीको किनारा अर्थात् दोभानको केही तल नै छ मेलम्ची बजार। यही दोभानमा हिजो दुईतिरबाट भीषण बाढी आयो।

याङ्ग्रीतिरका बाढीबारे स्थानीय रवीन्द्र कार्की भन्दै थिए -हाम्रोतिर ठूलो पानी पनि परेन। लेकमै केही भएको होला। हिजो ६ बजे त खेतै लग्यो।

मेलम्ची जोड्ने पक्की पुल बगाएको थियो। उनी पाल्चोक जोड्ने झोलुङ्गे पुलबाट बिहान मेलम्चीतिर आइपुगे।

मेलम्ची खोलाको ताल देख्दा उनी अचम्ममा परे -खोलाको माटो सिमेन्ट घोलेको जस्तो कालो थियो।

बाढी कसरी आयो, भन्नेबारे अझै पनि अन्योलमा छन् स्थानीय। खोला कसरी बजारमा पस्यो भन्नेबारेमा भने स्थानीय प्रस्ट छन्। सुरुमा बाढीमा आएको ढुंगा नवलपुरतिर जाने पक्की पुलले छेक्यो। त्यसपछि त्यहाँ रोकेको बाढी बजारतिर पस्यो। जब बाढीले विशाल रुप लियो पुलले त्यो थाम्न सकेन। जब पुल बग्यो र त बजारमा उक्लेको पानी खोलातिरै बग्दै गयो। अहिले तीन तलसम्मको ठाउँ बगरले लिएको छ।

सपनामा पनि नसोचेको भयो भन्दै यताउति गरिरहेका छन् मेलम्चीबासी। आज बिहानबाट घटनास्थलमा काठमाडौं, काभ्रेदेखि नजिकका मानिसहरु धुइरिए। हेलिकप्टर घुमिरह्यो।

दिनभर कहिले पानी कहिले घाम भइरह्यो। बाढीको वितण्डा दिनभर हेरे मानिसहरुले।

पानीले बेलाबेला धार फेरिरह्यो। मानिस उसै आतंकित भइरहे।

सभामुख अग्निप्रसाद सापकोटादेखि स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसम्म घटनास्थल पुगे। बाढीले आधा डुबाएको घरमा फसेकाहरुको उद्धार भयो। तर क्षतिको आँकलन अझै भएको छैन। साँझ वर्षा बढ्दै थियो। 'भोलि के हुने हो? भन्न सकिन्न', बजारका एक जना व्यापारी भन्दै थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell