यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। बाकु इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेल्सले टर्कीमाथि २-० को जित निकालेको हो।
खेलको ४३ औं मिनेटमा आरोन रामसेले गोल गर्दा वेल्सले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेल्सका कप्तान ग्यारिथ बेलले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर गुमाएका थिए। उनको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। यद्यपि इन्ज्युरी समयमा उनले गोल गर्दै वेल्सलाई २-० को जित दिलाउन सफल भए। खेलको अन्तिम समयमा खेलाडीबीच ठेलाठेलको अवस्था बन्दा टर्की र वेल्समा समान २/२ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।
जितसँगै वेल्स ४ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेल्सले स्वीजरल्याण्डमाथि १-१ को बराबरी खेलेको थियो। त्यस्तै एक खेल खेलेको इटली ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै १ खेल खेलेको स्वीजरल्याण्डले १ अंक जोड्दा पहिलो खेलमा इटली र दोस्रो खेलमा वेल्ससँग पराजय ब्यहोरेको टर्की अंकविहीन छ।
तेस्रो खेलमा समूह 'ए' कै इटली र स्वीजरल्याण्ड भिड्नेछन्। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा हुने खेल राति पौने १ बजे सुरु हुनेछ। इटलीले उदघाटन खेलमा टर्कीलाई ३-० को फराकिलो गोलअन्तरले हराएको थियो भने स्वीजरल्याण्डले वेल्ससँग १-१ को बराबरी खेलेको थियो।
