PahiloPost

Oct 30, 2025 | १४ कात्तिक २०८२

पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा



पहिलोपोस्ट

पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा
Photo: Reuters

यूईएफए यूरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले स्वीजरल्याण्डमाथि सहज जित निकालेको छ। इटलीको रोमस्थित स्टेडीययो ओलम्पिकोमा सम्पन्न खेलमा स्वीजरल्याण्ड इटलीसँग ३-० को फराकिलो अन्तरले पराजित भएको हो।

खेलको २६ औं मिनेटमा मानुअल लोकाटेलीको गोलमा इटलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको इटलीका लागि ५२ औं मिनेटमा लोकाटेलीले नै गोल थप्दै अग्रता दोब्बर बनाए। त्यस्तै ८९ औं मिनेटमा सिरो इमोबाइलले गोल थप्दा इटलीले ३-० को सानदार जित निकाल्यो। प्रतियोगिताको उद्घाटन खेलमा पनि इटलीले टर्कीमाथि ३-० कै फराकिलो जित निकालेको थियो।

यो सँगै इटली जारी प्रतियोगितामा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ। यद्यपि इटलीले अझै वेल्सको सामना गर्न बाँकी नै छ। त्यस्तै आँकडामा पनि इटली बलियो देखिएको छ। पछिल्लो २९ खेलमा अपराजित रहेको इटलीले ३१ गोल गरिसक्दा कुनै पनि गोल खाएको छैन।

त्यसअघि गएराति नै सम्पन्न अन्य खेलहरुमा समूह 'ए' मा वेल्सले टर्कीलाई १-० ले हराउँदा समूह 'बी'मा रसियाले फिनल्याण्डमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो।

यो सँगै समूह 'ए' मा ६ अंक जोडेको इटली शीर्षस्थानमा रहँदा ४ अंक जोडेको वेल्स दोस्रो स्थानमा, १ अंक जोडेको स्वीजरल्याण्ड तेस्रो र जितविहीन टर्की तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell