PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोभिड-१९ भ्याक्सिन मिथक र तथ्य : के खोपले मासिक चक्र र गर्भधानमा असर पुर्‍याउँछ?



विधुर ढकाल

कोभिड-१९ भ्याक्सिन मिथक र तथ्य : के खोपले मासिक चक्र र गर्भधानमा असर पुर्‍याउँछ?

काठमाडौं : कोभिड-१९ को सुरुवात देखि नै यसमाथि शंका फैलाउने समाचारको प्रवाह उत्तिकै हुन थालेको थियो। आपतकालीन प्रयोग भन्दै खोप विभिन्न खाले खोपहरु प्रचलनमा ल्याइँदा मानिसहरुमा यसखाले आशंका हुनु अस्वभाविक पनि होइन किनकि यसको दीर्घकालीन असरको पर्याप्त परीक्षण त हुन सुरु भएकै थिएन। 

त्यसैले न्युज हेडलाइनहरुमा लेखियो - खोपले मानिसको प्रजनन स्वास्थ्यमा असर गर्छ। भ्याक्सिनको प्रयोगले प्रजनन प्रणालीमा असर गर्ने समाचारहरु त्यसैगरी आइरहे।

यदि तपाईँ कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने 'भाग्यमानी' भित्र पर्नुभयो भने पक्कै पनि तपाईँलाई केही 'साइड इफेक्ट'हरु देखियो पनि होला। टाउको दुख्ने, पाखुरा दुख्ने, ज्वरो आउने तथा अन्य फ्लुका असर जस्तै लक्षण पनि देखियो होला। यतिखेर यस्ता केही 'किस्सा'हरु सार्वजनिक हुन थालेका छन् जसले मानिसलाई अत्याउन सक्छ। जस्तो कि खोपले महिलाको महिनावारी प्रभावित गर्ने कुरा। तर, अहिले नै भ्याक्सिनका कारण महिनावारीमा समस्या आउँछ भन्ने कुनै ठोस निष्कर्ष निस्किसकेको छैन। यो अध्ययनकै क्रममा रहेको छ।

कोभिड-१९ संक्रमणबाट गुज्रिएकाहरुमा लाइट पिरियड, हेभी पिरियड, महिनावारीमा अनियमितता र महिनावारी छुट्ने जस्ता समस्याहरु देखिएका छन्। तर, कोभिड-१९ र मासिक चक्रको विषयमा जोडेर थोरै अध्ययन भएका छन्।

२०२० मा यसै विषयमा भएको एक अध्ययनले २५ प्रतिशतको मासिक चक्रमा परिवर्तन भएको देखाएको छ।

२३७ जना गर्भधान गर्ने उमेर समूहका महिलाको क्लिनिकल र ल्याबरोटरी तथ्यांकलाई विश्लेषण गरिएको यस अध्ययनमा १७७ जना महिलाको मासिक चक्रको अध्ययन गरिएको थियो। जसमध्ये ४५ जनाको मासिक चक्रमा परिवर्तन भएको देखाएको छ। जुन २५ प्रतिशत हो। जसमध्ये ३६ जनामा मासिक धर्मको मात्रा (रक्तश्राव)मा कमी र ९ जनामा बढी देखिएको छ। त्यस्तै, गम्भीर प्रकारका बिरामीमा मासिक चक्र बढेको देखिन्छ।

कोभिड-१९ संक्रमितको मात्र होइन, भ्याक्सिन लगाएकाहरुको मासिक चक्रमा परिवर्तन भएका केही घटनाहरु पनि सार्वजनिक भएका छन्।

युनिभर्सिटी अफ इलिनोइसका मानवविज्ञान शास्त्री डाक्टर क्याथरिन क्लेन्सीले मोडेर्ना भ्याक्सिनको पहिलो डोज लगाएपछि आफ्नो महिनावारी समय भन्दा अगावै भएको र पहिले भन्दा गाह्रो भएको भन्दै अनुसन्धानमा सक्रिय छिन्। उनले भ्याक्सिन लगाएका महिलाहरुबिच सर्भे सुरु गरेकी थिइन्।

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भ्याक्सिन र फ्लु भ्याक्सिनले मासिक चक्रमा सामान्य असर पार्ने कुरा रिपोर्ट हुँदै आएको अवस्थामा कोभिड-१९ भ्याक्सिनले पनि प्रभावित पार्ने कुरामा आश्चर्य नहोला।

तर, केही ट्रान्समेन र पोस्ट मेनोपसल (रजनोवृत्ति) महिलाहरु जसमा सामान्यतया माहिनावारी हुँदैन उनीहरुले पनि भ्याक्सिन लगाएपछि महिनावारी रक्तश्राव भएको डक्टर क्लेन्सीलाई उदृत गर्दै बीबीसीले लेखेको छ।

तर, यस विषयमा पनि ठोस अध्ययन भएको छैन। सामान्य घटनाहरु सार्वजनिक भने भइरहेका छन्।

के भ्याक्सिनले गर्वधानमा असर गर्छ?

सामाजिक सञ्जाल तथा केही मिडियाहरुमा भ्याक्सिन प्रयोग पछि मासिक चक्रमा परिवर्तन भएका अनुभव तथा समाचारहरु आएका छन्। यदि कोभिड-१९ मासिक चक्रमा देखिएको प्रभावमा जोडिए पनि यसको सम्बन्ध गर्भधान वा सुरक्षित प्रसुतीमा कुनै असर हालसम्म देखिएको भने छैन

यद्यपि, सामाजिक सञ्जालमा भ्याक्सिनले प्रजनन क्षमतामा असर गर्ने तथा भविष्यमा सन्तान जन्माउन चाहनेले प्रयोग गर्न नहुने जस्ता मिथकहरु सार्वजिनक हुँदै आएको छ। कतिसम्म भने नेपालका खोप केन्द्रमा समेत निकट भविष्यमा गर्भाधानको सोच भएका महिला वा पुरुषलाई सकभर भ्याक्सिन नलगाउन सुझाव दिएको पनि देखिएको छ।

तर, कोभिड-१९ भ्याक्सिनको सम्बन्ध कुनै पनि मानिसको प्रजनन प्रक्रिया र अंगसँग रहेको भन्ने वैज्ञानिक आधारहरु छैन।

गत अप्रिलमा न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानले कोभिड-१९ को भ्याक्सिन प्रयोगले प्रतिकुल गर्भावस्ताको परिणाम नदेखाएको पुष्टि गरेको छ।

भ्याक्सिन लगाएका ३५ हजार गर्भवती महिलामा गरिएको अध्ययनले गम्भीर साइड इफेक्ट तथा जोखिम नबढाएको देखाएको छ। १६ वर्षदेखि ५४ वर्षसम्मका महिलाहरु अमेरिकी सीडीसीका वैज्ञानिकहरुले अध्ययन गरेका थिए।

यस अध्ययनले भ्याक्सिनले प्रजनन क्षमतामा असर गर्छ भन्ने सामान्य मिथकमात्र हो भन्ने जनाएको छ। डब्लुएचओकी प्रमुख बैज्ञानिक सौम्या स्वामिनाथनले भ्याक्सिनले महिला अथवा पुरुषको प्रजनन क्षमतामा अवरोध गर्ने कुनै पनि वैज्ञानिक तथ्यहरु नआएको बताइन्।

'भ्याक्सिनले के गर्ने हो भने - भाइरस वा ब्याक्टेरियाको निश्चित प्रोटिन वा एन्टिजेन विरुद्ध प्रतिरक्षा प्रतिक्रियालाई उत्तेजित पार्ने हो,' उनले भनेकी छिन्, 'कोभिड-१९ भ्याक्सिनले सार्स सिओभी -२ भाइरसको प्रोटिन विरुद्ध एन्टिवडी प्रतिक्रिया र सेल इम्युन प्रतिक्रियालाई उत्तेजित पार्ने हो। यसले महिला तथा पुरुषको कुनै पनि प्रजनन् अंगको कार्यमा कुनै गत्यारोध गर्दैन।'

यसअघि प्रयोग हुँदै आएका एचपीभी भ्याक्सिनहरुले पनि मानिसको प्रजनन् क्षमतामा असर नगर्ने तथ्य यसअघिका रिपोर्टहरुले पनि पुष्टि गरेका छन्।

त्यतिमात्र होइन स्त्रीरोग स्याहारका लागि पनि कोभिड-१९ भ्याक्सिन दिनुपर्ने बेलायती अलेज अवस्टेरिसियन एण्ड गायनोक्लोजिस्ट (एसीओजी)ले अभ्यास निर्देशिका मार्फत् भनेको छ। उसले गर्भावस्थाका महिलालाई खोप दिनुपर्ने बताएको छ।

त्यस्तै, कोभिड-१९ भ्याक्सिनसँग बाँझोपन जोडिएको भन्ने कुनै पनि बैज्ञानिक तथ्यहरु नभएको भन्दै  सबै योग्य व्यक्तिहरुलाई भ्याक्सिन दिन समेत सिफारिस गरेको छ जसमा भविष्यमा गर्भधारण गर्ने विचार भएकाहरुले पनि निर्धक्क भएर भ्याक्सिन लगाउन सक्ने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell