PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

रियल मड्रिडसँग १६ वर्षे यात्रा टुंग्याउँदै बाहिरिए कप्तान रामोस, अब कता जाँदैछन्?



पहिलोपोस्ट

रियल मड्रिडसँग १६ वर्षे यात्रा टुंग्याउँदै बाहिरिए कप्तान रामोस, अब कता जाँदैछन्?
Getty Images

स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफ्नो करार सकिन दुई हप्ता बाँकी रहँदा मड्रिड छाडेको घोषणा गरेका छन्। जुन ३० मा करार सकिँदै गर्दा क्लब र उनीबीच सम्झौता बढाउनेमा सहमति बन्न सकेको थिएन।

मड्रिडले उनको तलब १० प्रतिशत घटाएर १ वर्षको लागि करार बढाउने प्रस्ताव गरेको थियो भने उनी दुई वर्षको करारका लागि इच्छुक थिए।

१६ वर्ष रियल मड्रिडमा बिताएका उनले त्यहाँ रहँदा चारपटक च्याम्पियन्स लिगको ट्रफी, चार क्लब वर्ल्डकप ट्रफी, तीन युरोपियन सुपर कप, पाँच ला लिगा र कोपा डेल रे र चार सुपरकोपाको उपाधि दिलाएका थिए।

उनले १६ सिजनमा ६७१ खेल खेल्दै १०१ गोल गरेका थिए।

अबको यात्रा कता?

उनले क्लब छाडेसँगै प्रश्न उब्जन्छ: लामो समय मड्रिडमा बिताएका यी डिफेन्डर कता जाँदैछन्?

चोटसँग जुधेर बिताएको पछिल्लो सिजनको बावजुत ३५ वर्षे यी खेलाडी अझै पनि कम्तीमा दुई वर्ष अर्को कुनै पनि क्लबका लागि महत्वपूर्ण बन्न सक्छन्। उनी इटली जान सक्छन जहाँ ट्याक्सको हिसाबले सहज हुनेछ अथवा प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडमा उनको चर्चमा एकताका राम्रै चलेको थियो।

त्यसबाहेक चीनको लिगमा पनि एउटा विकल्प हुन सक्छ किनभने दुई वर्षअघि उनी चीन जानका लागि उनी सहमतिको नजिक पुगेका थिए।

युरोपियन मिडियाका गसिपलाई आधार मान्ने हो भने उनी फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन, इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र अर्को स्पेनिस क्लब सेभियासँगको छलफलमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell