PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ओलीको प्रश्न : कथंकदाचित देउवा प्रधानमन्त्री हुनुभयो भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?



पहिलोपोस्ट

ओलीको प्रश्न : कथंकदाचित देउवा प्रधानमन्त्री हुनुभयो भने एमाले सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासले २६ जेठमा लिखित जवाफ पेश गर्न ७ दिनको समय दिएको थियो। १८ बुँदे लिखित जवाफमा रिट निवेदकले उठाएका एक एक प्रश्नको जवाफ ओलीले दिएका छन्।

लिखित जवाफको ६ नम्बर बुँदामा एमाले अध्यक्ष समेत रहेका ओलीले अदालतमाथि प्रश्न उठाएका छन्, 'विपक्षीको माग पूरा भयो भने एमाले सत्तापक्ष हुने वा प्रमुख प्रतिपक्षी दल हुने?'

विपक्षी गठबन्धनमा अहिले एमालेको माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह छ। यदि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भयो भने एमाले र जसपाका सांसद कुन दलको हुने भनि ओलीले प्रश्न गरेका हुन्।

'नेपालको संविधानले प्रमुख प्रतिपक्षलाई शासन सञ्चालनमा अनिवार्य गरेको छ र प्रमुख विपक्षी दलको नेतालाई विभिन्न संवैधानिक भूमिका प्रदान गरिएको छ। कथंकदाचित रिट निवेदकहरूले माग गरे बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा (एमाले) र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ?' ओलीले सोधेका छन्, 'मैले नेतृत्व गरेको नेकपा (एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष? किनभने देउवा त नेकपा (एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बनेको अवस्था हुनेछ। एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell