काठमाडौं : काठमाडौं महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई सहयोग गर्न राहत घोषणा गरेको छ। राष्ट्रिय सभागृहमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन्।
मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा महानगरले सक्दो सहयोग गर्ने महानगर प्रमुख शाक्यले बताए।
मंगलबार राति आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ। मेलम्ची र हेलम्बुका कयौं क्षेत्र डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन् भने अर्बौंको क्षति भएको छ।
सडक मार्ग अवरुद्ध हुँदा विस्थापितहरुको उद्धारमा समस्या समेत आएको छ।
मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो। उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले मेलम्ची बजारनजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो।
यसैगरी हिजोमात्र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले छिमेकी जिल्लाको प्रकोपलाई सहयोग गर्ने भन्दै ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका थिए।
