पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्रीसहित मनाङ प्रस्थान गरेका छन्।
औषधि, खाद्य सामग्री र टेन्ट लिएर मन्त्री राजीव गुरुङसहितको टोली मनाङ प्रस्थान गरेको हो। टोलीमा मुस्ताङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन्।
गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर व्यवस्थापन गरिएको हो। मनाङमा मुख्यमन्त्री पोखरेलले बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।
विपद् कोषमा ५ करोड
यसैबिच प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा ५ करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी संचालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई निर्देशन समेत दिएको छ। उनले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री बहाली भएकै दिनमा भएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि पोखरेलले निर्देशन गरेका छन्। यसअघि प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाइसकेको छ।
