PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'मह'को म बिना अपुरो हरिवंश : 'मदनदाइ अस्वस्थ हुँदा आफैँ बिरामी भए जस्तो लाग्छ'



लक्ष्मी बलायर

'मह'को म बिना अपुरो हरिवंश : 'मदनदाइ अस्वस्थ हुँदा आफैँ बिरामी भए जस्तो लाग्छ'

काठमाडौं : महजोडीमध्ये 'म' अर्थात मदनकृष्ण श्रेष्ठ लामो समयदेखि बिरामी छन्। ६ वैशाखमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको केहि दिनमा नै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरियो। पहिलोपटक ८ दिन र दोस्रोपल्ट १४ दिन अस्पतालको बसाई पछि घर फर्किए उनी।

अस्पतालले डिस्चार्ज गरेको एक साता मात्र भएको थियो। तर अचानक २१ जेठ शुक्रवार राति उनको मुटुमा समस्या देखियो। राति नै उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल लगियो। यसरी मदनकृष्ण बेला बेला बिरामी हुँदा आफैँ बिरामी भएको जस्तो लाग्ने बताउँछन् हरिवंश आचार्य।

नहोस् पनि कसरी महजोडीले सहकार्य गरेको नै ४१ वर्ष भइसक्यो। दुवैको अटुट सम्बन्ध र निरन्तर सहकार्यका कारण नै उनीहरुले महजोडीको उपनाम पाए। त्यसैले त दुवैको पहलले मात्रै यहाँसम्म पुग्न सकेको हरिवंशको भनाई छ। भन्छन् 'दुईवटा गोरुमा एउटा गोरु बिरामी हुँदा खेत कम जोतिन्छ। दाइ बिरामी हुँदा म आफैँ बिरामी भएजस्तो हुन्छ। निकै थाकेको महसुस हुन्छ। काम गर्ने उर्जा समेत हराएर जान्छ।'

२०७८ जेठ २१ शुक्रवार राति हरिवंश सुतिसकेका थिए। राति मोबाइल स्विच अफ गर्ने बानी। सो दिन पनि राति मोबाइल 'अफ' थियो।बिहान मोबाइल अन गर्दा म्यासेज देखे। म्यासेजमा लेखिएको थियो 'म गंगालाल हस्पिटल छु'। म्यासेज थियो उनका जोडी मदनकृष्णको।

म्यासेज देख्दा निकै तनाव भयो हरिवंशलाई। उनी हतारिदैँ अस्पताल पुगे। अस्पताल पुग्दा डाक्टरहरु मदनकृष्णको मुटुमा स्टेन्ट राख्ने तरखरमा थिए। डाक्टरहरुले हरिवंशसँग मदनकृष्णको अवस्थाबारे छलफल गरे। त्यसपछि उनको मुटुमा एन्जियोप्लास्टी गरी दुईवटा स्टेन्ट राखिएर उपचार गरियो।

डेढ वर्ष अघि पनि उनको मुटुमा समस्या देखिएको रहेछ। त्यो बेला पनि एन्जियोप्लास्टी गरेर एउटा स्टेन्ट राखिएको थियो।

यसपटक फेरि स्टेन्ट राख्ने भन्दा हरिवंश एकैछिन निकै चिन्नित बने। एक त मदनकृष्णको पाको उमेर। अर्को मुटुको समस्या लगायत साथै उनलाई पार्किन्सन, प्रेसर र कन्स्टिपेशन समेत समस्या थियो। तर पनि त्यो अवस्थालाई सामान्य रुपमा हेरे उनले।

मेडिकल साइन्स र प्रविधिले अहिले निकै सजिलो बनाइदिएको मान्छन् उनी। 'मेडिकल साइन्सले मदनदाइको रोगको उपचार सम्भव भएको छ। यदि पहिले यस्तो रोग लागेको भए बाच्न मुस्किल हुन्थ्यो। त्यसैले मेडिकल साइन्स र डाक्टरलाई निकै धन्यावाद दिन चाहन्छु। उहाँहरुले नै दाइलाई बचाइदिनु भएको हो।' हरिवंशले सुनाए।

अहिले मदनकृष्णको स्वास्थ्यमा बारम्बार समस्या देखिएपछि चाँडै निको भइदिए हुन्थ्यो लाग्छ हरिवंशलाई। अनि कल्पना गर्न थाल्छन् 'पहिले जसरी कहिले सँगै-सँगै काम गर्न पाइएला?'

अहिले हरिवंश सामाजिक सन्देशमुलक भिडियो ल्याउन तयारीमा छन्। आफू मदनकृष्णबिना अपुर्ण हुने भन्दै हरिवंशले भिडियोमा सानो भुमिका भए पनि मदनकृष्णलाई समावेश गर्ने उनको इच्छा राखेका छन्।

भन्छन् 'मदनदाइ अहिले आराम गरिरहनु भएको छ। धेरै तनाव नपर्ने गरि उहाँलाई भिडियोमा अन्तिममा नारा भन्न भए नि सरिक गराउनेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell