PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मेलम्चीका बाढी प्रभावितलाई कलाकारहरुको राहत



पहिलोपोस्ट

मेलम्चीका बाढी प्रभावितलाई कलाकारहरुको राहत

काठमाडौं : लगातार वर्षाका कारण नेपालका विभिन्न ठाउँमा बाढीपहिरोका कारण निकै जनधनको क्षति भएको छ। अझ सिन्धुपाल्चोकको मेलम्ची बजार निकै प्रभावित बनेको छ।

बाढी र हिलोले घरहरु पुरिनुका साथै खेतीपाती पनि समाप्त पारेको छ। जनधनको क्षति भएको छ। मेलम्ची बजार नै बगरमा परिणत भएको छ। जसकारण धेरै मानिसहरु घरविहीन भएका छन्। 

मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली कलाकारहरु अघि सर्न थालेका छन्। यसैबीच, निर्देशक मिलन चाम्स बाढी प्रभावितहरुलाई राहत वितरण गर्न सिन्धुपाल्चोक जाँदै छन्। चाम्ससहित आँचल शर्मा र उदीप श्रेष्ठले राहत सामग्री बोकेको गाडिको फोटोसहित सहयोग गर्न लागेको कुरा फेसबुकमार्फत जानकारी दिएका छन्।

‘हामी ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्ची बजार आउँदै छौँ। पीडित दाजु-भाइ दिदी-बहिनीहरु मोटर बाटो आउने सम्म राहत लिन आइ दिनु हुन हार्दिक अनुरोध गर्दछौँ,’ उनले फेसबुकमा लेखेका छन्।

 

त्यसैगरि, अभिनेत्री पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुलाई सहयोग गर्ने बताएकी छिन्। उनले शुक्रवार सहयोग वितरण गर्ने तयारी गरेको फेसबुकमार्फत जनकारी गराएकी हुन्।

सिन्धुपाल्चोकमा जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी पूजाले अरुलाई दुःख पर्दा निकै मन रुने बताएकी छिन्। पूजाले आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रवार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन्।

 

त्यसैगरि, अभिनेत्री श्वेता खड्काले पनि ‘सिन्धुको समस्यामा हाम्रो साथ’ भन्दै सहयोग अभियान सुरु गरेकी छिन्। उनले शुक्रवार सहयोग वितरण गर्न जाने तयारीमा रहेको समेत जानकारी दिएकी छिन्।

श्वेताले विभिन्न सहयोगीहरुको साथमा खाद्यान्न लिएर मेलम्ची जाने उल्लेख गरेकी हुन्। साथै, उनले यो विपद्को घडीमा आफूले सहयोगको पाइला अघि सारेको र यसमा सबैले हातेमालो गरेर साथ दिन समेत अपिल गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell