PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिद्धार्थ बाल तथा महिला अस्पताललाई कोभिड विशेष बनाउन बुटवल उपमहानगरको पहल



पहिलोपोस्ट

सिद्धार्थ बाल तथा महिला अस्पताललाई कोभिड विशेष बनाउन बुटवल उपमहानगरको पहल

बुटवल : कोभिड-१९ को महामारीका नयाँ र खतरनाक लहरलाई लक्षित गर्दै जनस्वास्थ्यका क्षेत्रमा प्रभावकारी पूर्व तयारी थाल्न बुटवल उपमहानगरले पहल थालेको छ। स्वास्थ्य विज्ञहरुले महामारीका नयाँ भेरिएन्ट आउन सक्ने र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने बताइरहेका बेलामा बुटवलले महामारीको पूर्व तयारीलाई प्राथमिकता दिएको हो।

महामारीमा बालबालिका र सुत्केरीका लागि लक्षित गरेर उपचारका सबै प्रबन्ध मिलाउन तथा पूर्व तयारीलाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय एवं सहकार्य भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। बुटवल उपमहानगरपालिका मातहत रहेको सिद्धार्थ बाल तथा महिला अस्पताललाई बाल तथा प्रसुतीको विशिष्टकृत सिटी अस्पतालकै रुपमा रुपान्तरण गर्नेगरि पहल भइरहेको र तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको प्रमुख सुवेदीको भनाइ छ।

बालबालिका र प्रसुतीका बेड थप गर्ने, उपकरण बढाउने र जनशक्तिको समेत आवश्यक प्रवन्ध मिलाउने विषयलाई पूर्व तयारीको प्राथिमकतामा राखिएको उनले बताए। हाल अस्पतालमा कोभिड विशेषका मात्रै पाँच वटा आइसीयूसहितका बेड सञ्चालनमा छन्।

सेवालाई विस्तार गर्दै कोभिड प्रभावित बालबालिका र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधासम्पन्न उपचार केन्द्र बनाउन लागिएको अस्पतालका मेसु डा राजेन्द्र प्रसाद बस्यालले बताए। अहिले भइरहेको सेवालाई जनशक्ति र आवश्यक उपकरणसहित थप विस्तार र व्यवस्थित बनाउन शुरु गरिएको उनले बताए।

उनले उपमहानगरबाट ५० लाख बराबरको स्रोत सुनिश्चित गर्नेगरि ३० लाख प्राप्त भइसकेको र अस्पतालमा निर्माणका काम पनि अगाडि बढिरहेको जानकारी दिए। अस्तालमा विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ।

२०५५ साल कात्तिकमा स्थापना भएको उक्त अस्पतालमा हाल एक सय ५० बेड रहेका छन्। विभिन्न विषयका एक सय ८१ जना जनक्तिले अस्पतालमा सेवा दिइरहेका छन्। यसलाई विस्तार गर्दै बाल र प्रसुतीको विशिष्टिकृत सिटी अस्पतालका रुपमा विकास गर्ने भन्दै उपमहानगरले नीति तथा कार्यक्रमसमेत बनाएको छ।

केन्द्र र प्रदेश सरकारको सहयोग तथा निजी क्षेत्रको सहकार्यमा उक्त अस्पताललाई बाल तथा प्रसुतीको विशिष्ट अस्पताल बनाउन लागिएको हो। महामारीका गएका लहरबाट पाठ सिक्दै आउने लहरको सामनाका लागि उपकरणको प्रवन्ध मिलाउन, जनशक्तिको व्यवस्थापन गर्न र समन्वयका कामलाई यथाशीघ्र सञ्चालन गर्न बालरोग विशेषज्ञहरुले उपमहानगरलाई सुझाव दिएका थिए।

उपमहानगरले हालै यसक्षेत्रका बालरोग विशेषज्ञहरु, सरुवा रोगका विषयका जानकार, स्वास्थ्य संस्था सञ्चालन तथा विभिन्न विषयका विज्ञहरुसँग विशेष छलफल गरेको थियो। कोभिड-१९ को महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै विज्ञहरुसँग परामर्श गरिएको र सोही आरधारमा सिद्धार्थ बाल तथा महिला अस्पताललाई प्राथमिकतामा राखिएको हो।

विज्ञहरुले जनशक्ति थप गर्न, उपकरणको प्रवन्ध मिलाउन र आपतकालिन अवस्थामा समन्वय गर्ने विशेष संयन्त्र निर्माण गर्न सुझाव दिइएको बालरोग विशेषज्ञ डाक्टर राजु काफ्लेले जानकारी दिए। उनले बाल र मातृ सुरक्षाका विषयमा बुटवलले देखाएको तदारुकता उदाहरणीय रहेको बताए।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताललाई नै केन्द्रमा राखेर बालबालिकाको उपचार हुने सबै अस्पतालमा समन्वय गरिने भएको छ। यसका लागि आवश्यक संयन्त्र बनाउने र आवश्यक उपकरण तथा जनशक्ति तीनै तहका सरकार र निजी क्षेत्रसमेतको सहकार्यमा व्यवस्थापन गर्ने सर्बपक्षीय छलफलको निर्णय भएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए।

उपमहानरगमा हालै अस्पताललाई चेक प्रदान गरिएको थियो। त्यसअवसरमा उपमहानगरका प्रमुख सुवेदीले अस्पतालका मेसु डा बस्याललाई उक्त रकम बराबरको चेक प्रदान गर्दै थप स्रोत जुटाउन पहल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell