
पोखरा : बर्खामास। बस्ती तल सेती उर्लिंदै बगिरहेको छ। उर्लिएको सेती देखेर बस्तीका सटबहादुर गुरुङको मन भयभीत हुन्छ। उर्लेको खोलाका कारण उनी निदाउन सक्दैनन्।
अविरल वर्षाका कारण उर्लिएको सेतीले बस्ती जोखिममा छ। ०४२ सालदेखि बसोबास भइरहेको उक्त बस्तीमा वर्षाले त्यतिसारो असर पुर्याएको थिएन। यसअघि सेती जतिसुकै उर्लिए पनि बस्तीका मानिसलाई भय थिएन।
पोखरा महानगरपालिका वडा नम्बर १४ को गस्ती बस्तीमा ३७ घर छन्। जसमध्ये १२ घर जोखिममा छन्। जोखिममा रहेका परिवारलाई वडा कार्यालयले समाज घर र चौरमा राखेको छ। बाँकी केहीलाई बस्तीकै परिवारले आश्रय दिएर राखेका छन्। बस्तीका सबैको ज्याला मजदुरी गरेर दैनिकी गुजारा हुन्छ।
पोखरामा सोमबारदेखिको वर्षाले बुधबार बिहान बस्ती छेउको जमिन कटानमा पर्यो। सेती उर्लिएपछि बहाव बढ्दै छ। उर्लिएको सेतीले भएको कटानले बस्तीका १२ घरलाई जोखिममा पार्यो।
पोखरा महानगरपालिका १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीका अनुसार अहिले जोखिममा रहेका परिवारलाई तत्कालका लागि व्यवस्थापन गरिएको छ। मर्कामा रहेका परिवारलाई वडाले पालसम्म प्रदान गरेको छ। रेडक्रससँग हारगुहार गरेर प्रदान गरेको पाल समेत अपुग रहेको वडाध्यक्ष कार्की बताउँछन्।
‘अझै ५/७ वटा पाल पुग्या छैन फेरि पहल गर्नपर्ला रेडक्रसले फेरि दूईचार पाल थपिदिए हुन्थ्यो,’ वडाध्यक्ष कार्कीले भने, ‘अब जताततै गुहार्नुपर्ला नि वडासँग बजेट छैन, वडाले सिफारिस गर्ने महानगरलाई हो।’
उनी पहिल्यै आफैँ रेडक्रसको जिल्ला सदस्य भएको नाताले पहल सहयोग भएको बताउँछन्।
यता बस्तीका मानिस उर्लिएको सेतीले भयभीत छन्। सेतीको सुसेलीले बस्तीका मानिस त्रसित छन्। समयमै ज्यान जोगाएर तत्कालका लागि सुरक्षित भए पनि बस्तीका मानिसले राहतको सास फेर्न सकेका छैनन्। ज्यान जोगाए पनि सुरक्षित छत खोज्न कहाँ जाने?
यस विषयमा वडाध्यक्षले ठोस निर्णय लिन सकेका छैनन्। महानगरपालिकालाई जानकारी गराए पनि उनीहरुलाई कसरी व्यवस्थापन गर्ने वडाध्यक्ष नै अलमलमा छन्। तत्कालका लागि सुरक्षित राखेर वडाको जिम्मेवारी पूरा भएको उनको आशय छ।
‘घरमाथि टेन्ट राखेर बसेका छन् तिनीहरुले आफनो सामान सारिसकेका छन्, त्यसरी बसे त्यती खतरा छैन यो बर्खालाई क्यारे! अर्को वर्ष देखा जाएगा,’ वडाध्यक्षले भने।
वडाले यस विषयमा गहन रुपमा नसोचे पनि बस्तीका अध्यक्ष सटबहादुर गुरुङ भने मानिसलाई सुरक्षित गर्न लागिपरेका छन्।
बुधबार सबेरै बस्ती जोखिममा रहेको थाहा पाएपछि उनले वडामा खबर गरे। वडा र सशस्त्र आएर अवलोकन गरेर फर्किए। गुरुङले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्नुपर्ने पहल गरे। अस्थायी बसोबासका लागि बस्तीका मानिसले टहरा बनाए। तत्कालका लागि उनले वडासँग पाल उपलब्ध गराउन आग्रह गरे। वडाध्यक्ष फोटो खिचेर गए।
‘खाँबोमात्र गाडेको थियो पाल खोज्दिन भनेको त उसले पनि कतै संस्थासित हात थाप्ने होला क्यारे खै यता फोटो चाहिन्छ के-के भन्नु भो र फोटो खिचेर चै लएका थिए,’ गुरुङले भने।
बुधबार दिनभर पालका लागि उनले चिनेजानेका व्यक्तिसँग हारगुहार गरे। साँझ वडाध्यक्ष कार्कीले रेडक्रसले सहयोग गरेका पाल पठाइदिए। त्यही पनि अपुग। तत्कालका लागि जोखिममा रहेका घरपरिवार टहरामै सुरक्षित बसेका छन्।
बस्तीका घर मनसुनको सुरुवातमा जोखिममा छन्। अहिले अस्थायी रुपमा बसोबास गरे पनि मनसुन सकिएलगत्तै उनीहरु जोखिमयुक्त घरमै फर्कन बाध्य हुनेछन्।