पोखरा: बाढीको क्षतिको अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन्। मौसम खराबीका कारण मुख्यमन्त्री फर्किन नसकेका हुन्। पोखरा फर्कने प्रयास भए पनि मौसममा आएको खराबीले हेलिकप्टर उड्न सकेन। हेलिकप्टर पुन: चामे फर्काइएको छ।
यसैबीच, प्रदेश सभामा भोली शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यसूची छ।
सरकारका प्रवक्ता कुमार खड्काले मौसममा सुधार भए भोलि बिहानै मुख्यमन्त्रीसहितको टाेली पोखरा आउने र संसदको कारबाही अगाडि बढाउने जनाएका छन्।
मौसममा सुधार आएर मुख्यमन्त्री शुक्रबार फर्किए सदनको कार्यसूची अघि बढ्ने अन्थया अर्को दिनको कार्यसूचीमा राखिने प्रवक्ता खड्काले बताए। यस विषयमा प्रदेशसभा सचिवालयमा कुरा भइसकेको खड्काको भनाई छ।
मुख्यमन्त्री नभएमा विश्वासको मतसम्बन्धी प्रस्ताव सभामा पेस हुने छैन।