PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

६० वर्ष पुरानो भवन किन छाड्दैछ गृह मन्त्रालय? पुरानो प्रधानमन्त्री कार्यालयमा राखियो बोर्ड



कमलराज भट्ट

६० वर्ष पुरानो भवन किन छाड्दैछ गृह मन्त्रालय? पुरानो प्रधानमन्त्री कार्यालयमा राखियो बोर्ड

काठमाडौं: गृह मन्त्रालयको कार्यालय सरेको छ। सिंहदरवारको उत्तर पश्चिममा रहेको मन्त्रालय अब पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा सरेको हो। यो भवनबाट प्रधानमन्त्री कार्यालय सरिसकेको छ। भवनमा गृह मन्त्रालयको बोर्ड राखिएको छ।

भूकम्पले भत्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ। भूकम्पपछि प्रधानमन्त्री कार्यालय सारिएको भवनमा अब गृह मन्त्रालय सारिएको हो।

गृहको आन्तरिक व्यवस्थापन महाशाखाले मन्त्रालय सर्ने क्रममा रहेको जनाएको छ। पुरानो प्रधानमन्त्री कार्यालय रहेको अत्याधुनिक भवनमा गृहका तीन वटा शाखा सरिसकेका छन्। मन्त्रालय पूर्ण रुपमा असार मसान्तसम्म सरिसक्ने महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

६० वर्ष पुरानो भवन किन छाड्दैछ गृह?

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाका अनुसार नयाँ भवन बनाउने प्रयोजनका लागि गृह पुरानो प्रधानमन्त्री कार्यालय सर्न लागेको हो। अहिले कायम रहेको भवन करिब ६० वर्ष पुरानो हो। पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि गृहले ६० वर्ष पुरानो भवन छोड्न लागेको हो।

महाशाखा प्रमुख पाण्डे भन्छिन्, 'नयाँ भवन बनाउने सिलसिलामा हामी सर्न लागेको हो। जुन ठाउँमा मन्त्रालय छ त्यहाँ नयाँ भवन बनाउन आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट पनि परेको छ। प्रारम्भिक चरणको काम सुरुवात गर्न १० करोड जति माग गरेका थियौं। एसिसमेन्ट, डिपीआर तयार गर्ने, सुरुका चरणका कामहरु गरेपछि लागत स्टिमेट स्वीकृत भएपछि अनि कति वर्षमा सम्पन्न हुने टुंगो लाग्ला। कहिले बन्छ अहिले भन्न सकिन्न।'

पाण्डेका अनुसार अहिलेको भवन २०१८ सालतिर बनेको हो। भवन कसरी र कहिले बनेको भनेर महाशाखाले अध्ययन पनि गरिरहेको छ।

'अहिले हामी बसिरहेको भवन धेरै पुरानो हो। २००८ सालदेखि गृह मन्त्रालयको अस्तित्व रहेको देखिन्छ। २०१७ सालदेखि गृह पञ्चायतको रुपमा काम गरेको देखिन्छ। राष्ट्रिय पञ्चायत सदस्यहरुको सभा बस्नका लागि बनाइएको पुरानो भवन हो यो। भवन त्यस्तै २०१८/०१९ सालतिर बनेको भन्ने अनुमान छ। अध्ययन भइरहेको छ,' उनले भनिन्।

आगामी आर्थिक वर्षबाट पूर्णरुपमा भवन छोडिने र प्रारम्भिक कामहरु अघि बढ्ने पाण्डे बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell