काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची गएको बाढी पहिरो केही थामिए पनि यसले पार्ने प्रभाव भने रोकिएको छैन। अहिले पनि नदीले कटान गरिरहेको छ। त्यस्तै, आकास घुम्म हुँदा त्यहाँका मानिसमा त्रास उत्तिकै छ।
आज बिहानदेखि नै मेलम्चीमा घाम देखिएको छ। केहीबेर घाम देखिएपछि घरभित्रबाट सामान निकालेर, बाढी पहिरोबाट बगाएर बाँकी रहेका सर सामान सुकाउने देखि व्यवस्थापन गर्ने काममा मानिसहरु जुटेका छन्। अहिले पनि मेलम्ची बजारमा उद्दार तथा व्यवस्थापनको काम भइरहेको छ।
बाढी पहिरोमा परेर अझैं २० जना मानिस बेपत्ता भएका छन्।
'जोखिम अहिले पनि कायमै छ। २० जना मानिस सम्पर्क बिहीन छन्। उनीहरुको खोजी भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोका प्रमुख जिल्ला अधिकारी अरुण पोख्ररेलले भने।
बाढी पहिरोबाट सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु नगरपालिका सबैभन्दा धेरै प्रभावित बनेको छ। बाढी पहिरोमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरुमा दुई जना चिनियाँ र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन्।
सम्पर्क बिहीन हुनेमा अधिकांश नेपाली नै रहेका छ। बाढी पहिरोमा घाइते भएका दुई जनाको अहिले पनि उपचार भइरहेको सीडीओ पोखरेलले जानकरी दिए। अहिलेसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले ८४ जनाको उद्दार गरिसकेको छ।
मेलम्ची, हेलम्बु नगरपालिकामा गरेर ९ सय जना भन्दा बढी प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ। 'यो अहिलेसम्मको तथ्याङ्क हो। ९ सय भन्दाबढी बाढी पहिरोले प्रभावित भएको देखिएको छ,' सीडीओ पोखरेलले भने।
बाढी पहिरोको कारण मेलम्ची र हेलम्बु नगरपालिका त जोखिममा छँदैछ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका पनि जोखिममा रहेको स्थानीय प्रशासनले जानकारी दिएको छ। जुगल गाउँपालिकाको तीनवटा गाउँमा समेत बाढी पहिरोको प्रभाव परेको छ।
'झन्डै तीन सय मानिस बाढी पहिरोको कारण प्रभावित बनेका छन्। अहिले जोखिमपूर्ण बस्तीको अध्ययन गरिरहेका छौं,' जुगल गाउँपालिका उपाध्यक्ष सृजना तामाङले भनिन्।
