यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा समूह 'ई' का स्वीडेन र स्लोभाकिया प्रतिस्पर्धामा उत्रने छन्। आफ्नो पहिलो खेलमा पोल्याण्डलाई २-१ गोलअन्तरले हराएको स्लोभाकिया आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार मध्येको स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीडेन आफ्नो पहिलो जितको खोजिमा हुनेछ। खेल साँझ पौने ७ बजे क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ।
त्यस्तै आज हुने दोस्रो खेलमा समूह 'डी' का क्रोएसिया र चेक रिपब्लिक आमनेसामने हुनेछन्। बेलुकी पौने १० बजे सुरु हुने खेलमा स्कटल्याण्डमाथि २-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको चेक रिपब्लिकले क्रोएसियाको सामना गर्नेछ। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग १-० को पराजय ब्यहोरेको थियो। खेल स्कटल्याण्डस्थित हम्पडेन पार्क स्टेडियममा हुनेछ।
त्यस्तै भरे राति नै हुने तेस्रो खेलमा इङ्ग्ल्याण्डलाई स्कटल्याण्डले चुनौती दिनेछ। आफ्नो पहिलो खेलमा क्रोएसियालाई हराउँदै सुखद सुरुवात गरेको इङ्ग्ल्याण्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चेक रिपब्लिकसँग पराजय ब्यहोर्दै सुखद सुरुवात गर्न नसकेको स्कटल्याण्ड पहिलो जितको खोजीमा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ।
