काठमाडौं : केही दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामे क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। सिन्धुपाल्चोकमा मात्र तीन जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, अहिले बाढी र पहिरोमा परेर कालीकोट र डोटीमा थप तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यस्तै, सल्यान, दैलेख, सुर्खेत, तनहुँ लगायत जिल्लाका सडक अवरुद्ध भएको छ।
कालीकोट खाडाचक्र नगरपालिका ६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीवार साँझ पहिरो जाँदा ५४ वर्षीय बले बिकको मृत्यु भएको छ। त्यस्तै, डोटीको सिलगढी नगरपालिका ५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीवार दिउँसो पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ७ वर्षीय बालक बिनोद भण्डारी र मामा घर आएकी १० वर्षीया डेनिशा बिष्ट रहेका छन्। सुरेन्द्रको एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सल्यानको कालीमाटी गाउँपालिका ४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका-१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छिन्। रुखसहित खसेको पहिरोमा उनी च्यापिएकी थिइन्। प्रहरीले उनलाई उद्दार उपचारका लागि नेपालगंज लगेको थियो। पहिरोले कालीमाटी-बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकाले खुलाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
दैलेखको आठबिस नगरपालिका ५ घट्टेखोलास्थित कर्णाली राजमार्गमा बिहीवार दिउँसो ढुंगासहित पहिरो खस्दा सडक अवरोध भएको छ। यसैगरी दैलेख, आठबिस नगरपालिका-१ रामाघाटस्थित कर्णाली नदीको बहाब बढ्दा जोखिम रहेको ४५ घरधुरीका २ सय जनालाई प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरी र स्थानीय जनप्रतिनिधिहरुसँगको समन्वयमा सुरक्षित स्थानमा सारेको प्रहरीले जानकार दिएको छ।
हुम्लाको सिमकोट गाउँपालिका १ ठेहेस्थित दोजाम जाने गोरेटो सडकमा बिहीबार साँझ पहिरो जाँदा ठेहे सिमकोट सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ। साथै सोही ठाउँस्थित रलिङ खोलामा पानीको बहाव बढेकोमा माथिल्लो ग्याग्रुगाउँमा बस्ने ९ घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी हुम्ला, नाम्खा गाउँपालिका १ स्थित ताग्रुखोलामा बिहीवार दिउँसो आएको बाढीले फलामको ट्रस ब्रिज पुल बगाउँदा सिमकोट-हिल्सा जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ। सुर्खेत, गुर्भाकोट नगरपालिका-१ र २ को सिमाना पर्ने गोचे खोलामा बिहीवार राति आएको बाढीले सुर्खेत-दाङ सडक खण्ड अवरोध भएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ स्थित सर्देवा खोलाको किनारमा राखिएको सिजी कम्पनीको सामानहरु बाढीले बिहीबार साँझ बगाएको छ। गोरखो धार्चे गाउँपालिका-१ यरुबगरस्थित बुढीगण्डकी नदीमा बिहीवार राति आएको बाढीले गोपाल घलेको घर र राज कुमार ढकालको घर, ६ वटा बाख्रा सहित खोर बगाएको छ।
त्यस्तै तनहुँको भानु नगरपालिका-११ मानेचौका बस्ने सुरेश ढुङगानाको घरको गाह्रो अबिरल वर्षाका कारण बिहीवार दिउँसो भत्किएको छ। स्याङजाको गल्याङ नगरपालिका-८ करादीस्थित सिद्वार्थ राजमार्गमा बिहीवार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्व भएको छ। तर अहिले प्रहरीले एकतर्फी बाटो संचालनमा ल्याइसकेको छ।
सिन्धुपाल्चोकमा अहिलेसम्म बाढी पहिरोमा परेर तीन जनाको मृत्यु भइसकेको छ। २० जना सम्पर्कबिहीन छन्।
