काठमाडौं : मंगलवार आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद भएको छ। मंगलवार मेलम्ची क्षेत्रबाटै उक्त गाउँपालिका जोड्ने सडक बिच्छेद भएको हो। सडक बगरमा परिणत भएपछि अहिले हेलम्बुमा खानेकुराको संकट हुन थालेको छ।
हेलम्बु गाउँपालिका वडा १ का निमा शेर्पाले पसलमा खाद्यान्न सकिएको बताए। सरकार समक्ष उनको गुहार छ, 'किनेर खाने सामान मात्र ल्याइदिए हामीलाई धेरै राहत हुन्छ।'
मेलम्ची बजारमा बाढीले वितण्डा मच्चिएपछि राजधानीबाट राहत लानेको ओइरो लागेको छ। तर, मेलम्ची उता सडक सम्पर्क नभएपछि पीडितहरु बिचल्लीमा पर्न थालेका छन्।
मेलम्चीसम्म आइपुग्न तिम्बुबाट करिब १८ किलोमिटर सडक पार गर्नुपर्छ। विद्युत प्रवाह पनि रोकिएकाले यहाँ धेरैको सम्पर्क हुन सकेको छैन। तिम्बु किउल क्षेत्रको सडक बगरमा परिणत भएको उनले बताए।
'हामी अहिले तिम्बु क्षेत्रमा छौं। यहाँका सडकहरु केही देखिएको छैन,' शेर्पाले भने।
गाउँपालिकासँगको सडक सम्पर्क पनि टुटेको उनले बताए।
'गाउँपालिकाका मान्छे माथि आउन सक्दैनन्। हामी तल जान सक्ने अवस्था छैन,' शेर्पाले भने।
यता गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने पीडितहरुका लागि चाँडै नै राहतको व्यवस्था हुने बताए।
'सडक सम्पर्क बिच्छेद छ। अहिलेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारेमा हामीले तयार थाल्दैछौ। खाद्यान्नको अभाव भएमा हामी हेलिबाट भए पनि ओसार्छौ,' अध्यक्ष शेर्पाले भने।
