PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

जसपाको आधिकारिकताका लागि यादव-भट्टराईको निर्वाचन आयोगमा ३ दाबी



पहिलोपोस्ट

जसपाको आधिकारिकताका लागि यादव-भट्टराईको निर्वाचन आयोगमा ३ दाबी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईले पार्टी आधिकारिकताको दाबी गरेका छन्। यादव-भट्टराईले शुक्रवार निर्वाचन आयोगमा पुगेर आधिकारिकताको दाबी गर्दै निवेदन दिएका हुन्।

आयोगको जेठ ३१ गतेको निर्णयले पार्टीको आधिकारिकतामा विवाद भएकाले आधिकारिकताका लागि दाबी गरिएको निवेदनमा उल्लेख छ। यादव-भट्टराईको बिहीवार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको आधारमा दाबी गरिएको निवेदनमा उल्लेख छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३, को दफा ४३ को (ग) अनुसार आधिकारिकता दाबी गरिएको हो।

निर्वाचन आयोगको निर्णयले विवाद

यादव-भट्टराईले निर्वाचन आयोगको जेठ ३१ गतेको जसपाका नेताहरुले एक अर्कालाई गरेको कारवाही मान्यता नदिने निर्णयले आधिकारिकतामा विवाद भएको तर्क गरेको छ।

‘मिति २०७४/०२/१८ गते पदाधिकारीहरुले निर्णय गरी अधिकारिक रुपमा पार्टी सञ्चालन गर्नु पर्ने भएकोले अधिकारिकताको लागि मिति २०७४/३/३ मा भएको बैठकले त्यस अयोगबाट मिति २०७८/२/३१ को निर्णयले दलको अधिकारिकता सम्बन्धमा विवाद खडा भई निर्णय आएकोले विवाद निरुपणको सम्बन्धमा आयोगसँग दलको विधान तथा कानून बमोजिम निणर्यको लागि लिखित दाबी पेश गर्ने बहुमतको निर्णय भएको छ,’ निवेदनमा भनिएको छ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार कारवाही गरेको निर्णय अद्यावधिक गर्न नमिल्ने निर्णय गरेको थियो। उक्त निर्णय प्रति यादव-भट्टराई पक्षले असन्तुष्टि व्यक्त गरेको हो।

महन्थ ठाकुरलाई रोक्नका लागि दाबी

जसपाको यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले एक अर्कालाई कारवाही गरेका थिए भने एक समूहले अर्कोलाई अवरोध गर्दै आएको छ। आधिकारिकता दाबी गरिएको पत्रमा पनि ठाकुरले अवरोध गरेको यादवको आरोप छ।

‘बैठकमा महन्थ ठाकुर अनुपस्थित रही बारम्बार बैठकको सूचनालाई समेत बेवास्ता गरी, फरक सूचनाबाट बैठक स्थगित गर्ने कार्य भएको छ,’ निवेदनमा भनिएको छ।

ठाकुर पक्षका गतिविधि रोक्नका लागि आधिकारिकता दाबी गरिएको यादव पक्षको भनाई छ।

‘बहुमत हाम्रो पक्षमा छ’

आयोगमा यादवले बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। उनले विवाद उत्पन्न अघिको दलको हैसियतमा आफ्नो पक्षमा बहुमत रहेको यदवको भनाई छ। उनले विवाद अघिको दलको हैसियतमा आधिकारिकता आफूलाई दिनुपर्ने यादव समूहको माग छ।

‘बहुमत केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु हामो पक्षमा रहेकोले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन दल/पार्टीको आधिकारीकताको लागि जनता समाजवादी पार्टी, नेपालको कार्यकारणी समितिको मिति २०७८/३/३ को निर्णय वमोजिम लिखित दाबी पेश गरेका छौं,’ निवेदनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell