PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

विवादले टेलिशृङ्खला ‘जुठे’ को प्रसारण बन्द, थप परिस्कृत रुपमा आउने निर्माण टिमको दाबी



लक्ष्मी बलायर

विवादले टेलिशृङ्खला ‘जुठे’ को प्रसारण बन्द, थप परिस्कृत रुपमा आउने निर्माण टिमको दाबी

काठमाडौं: गत मंगलबार रुपा सुनार साथीहरुसँग कोठा खोज्न बबरमहल गएकी थिइन्। कोठा हेरिन् र सबै कुरा मिल्यो। तर, जब थरको कुरा आयो उनी ‘कामी’ हो भन्ने थाहा पाएपछि घरबेटीले बोलिनन्। पछि फोनमा खबर गर्ने मात्रै भनिन्। घर पुगेपछि घरबेटीले कोठा नदिने कुरा सुनाइछन्। जुन कुरा सँगै कोठा हेर्न जाने साथीले रुपालाई सुनाइन्।

त्यसपछि रुपलाई निकै नराम्रो लाग्यो। रूपा इमेज टेलिभिजनमा कार्यक्रम ‘उकाली ओराली’ प्रस्तोता हुन्। उनले उक्त घटना मनमा दबाएर राख्न सकिनन्। बरु घटनाबारे फेसबुकमा भिडियो पोस्ट गरिन्।

त्यसपछि उनले भोगेको घटनाबारे सबैले चासो दिन थाले। सामाजिक सञ्जालमा उनलाई सबैले साथ दिन थाले। फलरुवरुप बिहीबार (हिजो) रूपाले घरबेटीविरूद्ध प्रहरीमा जाहेरी दिइन्। 

+++

अहिले सामाजिक सञ्जाल कुनै पनि मुद्दा उठाउने बलियो माध्यम बनेको छ। एक साताअघि मात्रै टेलिशृङ्खला ‘जुठे’ पनि विवादमा फस्यो। सामाजिक सञ्जालमा ‘जुठे’ टेलिशृङ्खलामाथि बहस  चलेको छ। ‘जुठे’ को कथा र विषयवस्तुले दलित समुदायमाथि नै मजाक गरिएको भन्ने आरोप लागेको छ।

२८ जेठमा सरु सुनारले फेसबुकमा स्टाट्स राखेकी थिइन्। जसमा उनले ‘जुठे’ले दलितको समुदायका मानिसहरुको भावनामा ठेस पुर्‍याएको भनी आक्रोश पोखेकी थिइन्।

उनले लेखेकी थिइन्, ‘टेलिसिरियल 'जुठे' मा जातीय विभेद र छुवाछुतको विषयलाई समेटी देखाइएको दृश्य र पात्र जसरी के दलित समुदाय अझै पनि अनपढ, फोहरी र नराम्रा हुन्छन्?’

त्यसपछि मनोज विश्वकर्माले पनि यस विषयलाई उठाएका थिए। ३१ जेठमा उनले टेलिशृङ्खला ‘जुठे’बारे सामाजिक सञ्जालमा एक स्टाट्स लेखे। दलित पात्रलाई सिर्फ मजाकको विषय बनाइएको भन्दै उनले जुठेलाई बन्द हुनुपर्ने टेलिशृङ्खला भनेका थिए।

उनले लेखेका छन्, ‘मैले तेह्र शृङ्खलामध्ये सात शृङ्खलासम्म ‘जुठे’ हेरेँ। यसको टिमलाई मेरो समय सत्यानाश गरेकोमा अश्लील गाली गर्न मन छ। त्यति ‘भावानात्मक उत्तेजना’मा नआइकन भन्दा कम्तीमा यो भद्दा मनोरञ्जन बन्द गर्नुस्।’

त्यसपछि त यो विषय बहसको विषय बन्यो। धेरै व्यक्तिहरुले टेलिशृङ्खला ‘जुठे’ बन्द हुनुपर्छ भन्दै अभिव्यक्ति राख्न थाले। जुन बहस निकै चर्चाको विषय बन्यो।

टेलिशृङ्खला ‘जुठे’ चैत्र ४ देखि हिमालय टेलिभिजनबाट बुधबार बेलुकी ८ बजे प्रसारण हुँदै आएको थियो। ‘जुठे’ मा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (मास्टर) को संयुक्त लेखत एवं निर्देशन रहेको छ। ‘जुठे’ मा यी दुईका साथै रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारको अभिनय छ।

+++

काभ्रेपलान्चोक जिल्ला मिरेमिरे गाउँपालिका-४ मा एउटा गाउँ छ। जहाँ एकजना जिम्दार हुन्छन्। जिम्दारका श्रीमती र एक छोरी समेत छिन्। त्यसै गाउँमा जुठे पनि बस्छन्। जुन पात्रको भुमिका निभाएका छन् मरिचमान श्रेष्ठले। एक दलित युवा जो आरनको काम गरेर जीवन धान्छन्। उनकी बुढी आमा समेत छिन्। साथै अर्का चाउरे जो लुगा सिलाउन निकै सिपालु। उनकी पनि एक छोरी छिन्।

नेपाली समाजमा हुने भेदभाव र असमानताको विषयवस्तुमाथि नै ‘जुठे’ को कथा केन्द्रित छ। सामाजिक विषयवस्तुमा बनेको यस टेलिसिरियलले प्रसारण सुरु गरेको छोटो समयमै लोकप्रियता कमाएको थियो। तर, गत बुधबार भने ‘जुठे’ प्रसारण हुन सकेन।

निकै आलोचना र विवादपछि के टेलिशृङ्खला ‘जुठे’को प्रसारण बन्द भएकै हो त? 

'सधैँका लागि बन्द भएको छैन' 

टेलिशृङ्खला ‘जुठे’ का लेखक तथा निर्देशक मरिचमान श्रेष्ठले भने निषेधाज्ञाका कारण एपिसोडहरु प्रसारण गर्न नसकेको जानकारी दिए।

‘अहिलेसम्म निषेधाज्ञा अघि खिचेको स्टक भागले चलिरहेको थियो। हामीले गाउँमा गएर छायाङ्कन गर्दै आएका थियौं। अहिले सुटिङ गर्ने वातावरण छैन। सुटिङ गर्न असम्भव भएकाले प्रसारण रोक्ने निर्णय गरेका छौं,’ श्रेष्ठले पहिलोपोस्टसँग भने।

टेलिशृङ्खला ‘जुठे’ को १३ एपिसोड प्रसारण भइसकेको छ। उठाइएको विषयवस्तुमा दलित समुदायका केही व्यक्तिहरुले गुनासो गरेको कुरालाई सहजै रुपमा लिन्छन् उनी। सुरुमा सरु सुनारले फोन गरेर ‘जुठे’को कथा मन नपरेको र पुरानो कुरा कोट्याएको भनेर गुनासो गरेको उनले बताए।

तर, उनीहरुले गरेका गुनासो र आलोचनालाई सकरात्मक रुपमा लिएको बताउँछन् श्रेष्ठ।

भन्छन्, ‘कसैलाई पनि चोट पुर्‍याउने हाम्रो उद्देश्य होइन्। उहाँहरुसँग कुरा भइसकेको छ। उहाँहरुले यो टेलिशृङ्खलामार्फत जातीय प्रथालाई हटाउन सहयोग गर्नुपर्ने माग गर्नुभएको छ। उहाँहरुको सल्लाह र सुझाबलाई मध्यनजर गर्दै 'जुठे'लाई थप परिस्कृत गरेर लैजाने छु।’

हिमालयन टिभीसँग ‘जुठे’को प्रसारणको बारेमा ३ वर्षको लागि सम्झौता गरेको रहेछ। अहिले उनी आउँदो एपिसोडहरुको लागि स्क्रिप्ट लेख्न व्यस्त छन्। अब आउँदा एपिसोडहरुमा कथा नयाँ परिवर्तन भएर आउने उनको तर्क छ।

‘कहिलेकाहीँ कुनै कुराको समाधान निकाल्न वास्तविकता पनि देखाउनु पर्ने हुन्छ। दलित समुदायले सय वर्षसम्म लडेको कुरालाई हामी सय भागमा नै समाजलाई परिवर्तन हुने गरि देखाउने छौँ। अबको 'जुठे' परिमार्जित भएर आउने छ,’ उनले सुनाए।

साथै, सबैलाई ‘जुठे’ सधैँका लागि बन्द भएको भनी भ्रम मा नपर्न समेत उनले आग्रह गरेका छन्। असार ११ गते सुटिङमा जाने र त्यसपछि निरन्तर ‘जुठे’को प्रसारण हुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell