यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्वीडेनले स्लोभाकियामाथि जित निकालेको छ। रसियाको सेन्ट पिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न समूह 'ई' को खेलमा स्वीडेनले स्लोभाकियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्णायक गोल इमिल फोर्सबर्गले गरे। उनले खेलको ७७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
जितसँगै पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीडेनले ४ अंक जोडेको छ। यसअघिको खेलमा पोल्याण्डलाई हराएको स्लोभाकियाको ३ अंक छ।
आज हुने दोस्रो खेलमा समूह 'डी' का क्रोएसिया र चेक रिपब्लिक आमनेसामने हुनेछन्। बेलुकी पौने १० बजे सुरु हुने खेलमा स्कटल्याण्डमाथि २-० को जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको चेक रिपब्लिकले क्रोएसियाको सामना गर्नेछ। क्रोएसियाले यसअघिको खेलमा इङ्ग्ल्याण्डसँग १-० को पराजय ब्यहोरेको थियो। खेल स्कटल्याण्डस्थित हम्पडेन पार्क स्टेडियममा हुनेछ।
त्यस्तै भरे राति नै हुने तेस्रो खेलमा इङ्ग्ल्याण्डलाई स्कटल्याण्डले चुनौती दिनेछ। आफ्नो पहिलो खेलमा क्रोएसियालाई हराउँदै सुखद सुरुवात गरेको इङ्ग्ल्याण्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चेक रिपब्लिकसँग पराजय ब्यहोर्दै सुखद सुरुवात गर्न नसकेको स्कटल्याण्ड पहिलो जितको खोजीमा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ।
