काठमाडौं : जिल्ला प्रशासन कार्यालय दोलखाले नेपाल-चीन सीमा क्षेत्रमा भारी वर्षा भएकाले तामाकोशी नदीको तटिय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै नेपाल-चीन सीमा क्षेत्रमा रहेको रोङ्सिया शहर र सोको आसपासमा भारी वर्षा आएसँगै पहिरो जाँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त भएको जनाएको छ।
जसकारण कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना रहेको प्रशासनले बताएको छ। नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटिय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्ने सबैलाई सतर्क रहन भनिएको छ।
‘सतर्क र सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँदा साथ सुरक्षित स्थानतर्फ जानु हुन र स्थानीयतहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी समेत गराउनु हुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ।

