ड्रमसेटको आवाज आउँछ र लगत्तै सुनिन्छ किबोर्ड। त्यो संगीत थोमसको दिमागको भित्र कतै पुग्छ। त्यसपछि उनको एयरफोनमा गुञ्जन थाल्छ सन् १९८० को दशकको त्यो गीत। द वाटरब्वाइजको 'द होल अफ द मुन' -
'मैले एक इन्द्रेणीको चित्र कोरेँ
तिमीले त्यसलाई आफ्नो हातले थाम्यौं
मसँग त चमक थियो
तर, तिमीले त्यसमा योजना देख्यौ।'
धुन पच्छ्याउँदै गुञ्जिएको गीतसँगै उनी फ्ल्यासब्याकमा पुगे। र, पालैपालो सम्झिए ६ फरक घटना जुन एकअर्कोसँग सम्बन्धित थिए।
३० वर्षीय थोमसका लागि त्यो अप्रत्याशित क्षण थियो। त्यही क्षण, जसको पर्खाइ उनलाई विगत १० वर्षदेखि रह्यो। त्यति नै वर्ष भयो उनलाई कारले ठक्कर दिएको र उनको सम्पूर्ण याद गुमेको।
'त्यो फ्ल्यासब्याक अहिलेसम्मकै जादुमय घटना हो,' उनले गुमेको याद फर्कनुबारे अनुभव साटे, 'म अजिव खालको नीलो भुईंमा बसेको थिएँ। एउटा चाँदी रङको रेडियो पनि देखेँ। त्यसपछि म अर्कै ठाउँमा थिएँ, एउटा मान्छेको ठूलो हात समाइरहेको। त्यसपछि अर्कै केही देखेँ।'
उनले एउटा क्रिष्टमस ट्री सम्झिए जुन उनीभन्दा अग्लो थियो। त्यहाँ एक युवती उभिएकी थिइन्। जवान थिइन्, मुस्कुराइ रहेकी। उनको कपाल फुलेको थिएन।
'उनी मेरी आमा थिइन्, म उनको सानो छोरा। अनि त्यो सबै यथार्थ थियो,' थोमसले भने।
थोमसले तत्काल ती घटनाक्रम कापीमा टिपोट गरे। जति कुराहरू स्मरणमा आए, ती सबै सत्य हुन् भन्ने टुङ्गो लगाउनु थियो। कतै ती सबै दिमागी खेल त होइन? प्रश्न त उठेको थियो मनमा।
ती सबै मस्तिष्कमा लागेको चोटको अर्को फरक अभिव्यक्ति हुनसक्थ्यो। जस्तो, दुर्घटनापछि फेरिएको उनको व्यक्तित्व वा सामना गर्नु परेको अनुहारको अन्धोपन।
तर, फ्ल्यासब्याक वास्तविक थियो भने त्यो उनका लागि सुखद् थियो। किनकि, उनको स्मरण फर्किएको थियो।
+++
त्यस साँझ मध्य लण्डन अझै व्यस्त थियो। थोमस लिड्स विश्वविद्यालय प्रवेश गर्नुअघिको 'ग्याप'मा थिए। १९ वर्षीय उनी आफ्नो साथीलाई भेट्न गएका थिए। साथीसँगको भेटघाटपछि ग्रीनपार्क जाँदै थिए। त्यहाँ उनका बुवा उनलाई लिन आउँदै थिए। रातको नौ बजे बाटो काट्दै गर्दा हो उनलाई कारले ठक्कर दिएको।
ठक्करका कारण थोमस एउटा ट्याक्सीको माथि उछिट्टिए। त्यहाँ उनको टाउको बजारियो। ठोक्किएको गाडीमा ठूलो क्षति भयो। सिसा फुट्यो, बडी कुच्चियो। थोमसको शरीरको भारका कारण ट्याक्सीको छत नै उक्कियो। घटनालाई प्रत्यक्ष देखेका सुरक्षाकर्मी घटनाबारे बताउँदा पछिसम्मै विक्षिप्त सुनिन्थे।
घटना लगत्तै थोमसका बुवा डाक्टर एन्थोनी लिड्सलाई प्रहरीले दुर्घटनाबारे जानकारी दियो। उनलाई अस्पताल पुर्याउँदा एन्थोनीलाई लागेको थियो – छोरा निकै भाग्यमानी रहेछ। टाउकोमा सानो चोट लाग्यो तर बाँच्यो।
सामान्य चोट र दागबाहेक अन्य कुनै समस्या देखिएको थिएन उनमा। भोलिपल्टै उनको डिस्चार्ज समेत भयो। अस्पतालले उनलाई घर पठाएको खबर सुन्दा जानकारी लिन सम्पर्क गरेका प्रहरी अधिकारी नै छक्क परेका थिए। ती अधिकारीको कुराले थोमसकी आमा ज्याकलिनलाई निकै बेचैन बनाएको थियो।
घटनाको केही दिनसम्म थोमसले टाउको र शरीर दुखेको सुनाउथे। प्रहरी अधिकारीसँगको संवाद लगत्तै ज्याकलिनले छोरालाई सिटी स्क्यानका लागि लिएर गइन्। त्यहाँ पुगेपछि थाहा भयो एउटा तीतो सत्य। उनको दिमागमा रगत जमिसकेको रहेछ। 'ऊ मृत्युबाट २४ घण्टा मात्र टाढा पुगिसकेको थियो,' बुवा एन्थोनीले सुनाए।
जमेको रगत हटाउन उनको शल्यक्रिया भयो। जब थोमसलाई सघन उपचार कक्षमा ल्याइयो तब सबैकुरा ठीक छ भनिएको थियो।
'म केही अन्यौलमा भएको अस्पष्ट सम्झना छ। तर, म डराएको चाहिँ थिइँन। किनकि मलाई डराउन आउँदैन थियो,' थोमसले भनेका छन्, 'म बच्चाजस्तै थिएँ।'
उनी भावनात्मक उथलपुथलमा रहेको त्यस क्षणबारे सुनाए – कसैले भनेको थियो टाउकोमा चोटपटक लागेपछि रासायनिक असन्तुलनको कारण दिमागमा आघात पर्नु सामान्य हो। यसले बिरामीलाई आश्चर्यजनक रुपमा सन्तुष्ट अवस्थामा पुर्याउन सक्छ।
थोमस साँच्चै खुशी थिए। ठीक हुँदै जाँदा मानिसहरू भेट्न आउथे। तर उनले ठम्याउन सकेनन्। उनलाई भेट्ने अनि ख्याल राख्नेहरू आफ्नै आमाबुवा र पाँच दिदीभाइ थिए। उनका लागि उनीहरू उस्तै देखिने 'कोही' थिए। उनीहरूसँगको आफ्नो सम्बन्ध सम्झनै सकेनन् उनले। उनको स्मरण धुमिल बन्दै जानुलाई नदुख्ने औषधिको प्रभावको संज्ञा दिए धेरैले।
'ऊ हिँडिरहेको थियो र बोलिरहेको थियो। हाम्रा लागि त्यति नै सुखद् विषय थियो,' ज्याकलिनले भनिन्, 'त्यो नै हामीले गर्न सकेको र चाहेको कुरा थियो। धेरै सोचेनौं। किनकि लागेको थियो, ऊ ठीक छ।'
तर, घर फर्किएपछि थोमसले घर सम्झिएनन्। बाल्यकालदेखि त्यहीँ बसेका थिए उनी। सबैले उनलाई दुर्घटना अघिको गतिविधिबारे सोधे। उनको रुचीको कुरा गरेर स्मरण फर्काउन सकिन्छ कि भन्ने प्रयास गरियो।
'जब मानिसहरू मलाई विभिन्न कथा सुनाउथे। म उनीहरूको कुरामा फिट हुन कोसिस गर्थेँ,' थोमसले भने। तर बिस्तारै सबैले स्वीकार्नै पर्यो – उनले दुर्घटना अघिका सबै स्मरण गुमाइसकेका छन्।
केही वर्षमा उनको शरीरको पछाडि भागमा भएको तीन वटा 'फ्र्याक्चर' ठीक भयो। तर, त्यो भावनात्मक उथलपुथल जारी थियो।
'प्राय मानिसहरू आफ्नो बाल्यकाललाई सम्झदा अद्भुत र असीमित खुशीहरू सम्झन्थे। तर, मेरो हकमा सबैकुरा मूर्खतापूर्ण थियो। म जतिखेर पनि पार्कका रुखहरू मुनि बसिरहेँ।'
थोमस एक अर्थमा भने भाग्यशाली थिए। किनकि उनले आफ्नो स्कूलका दिनहरू सम्झन नसके पनि पढ्ने, लेख्ने र गणितको आधारभूत कुराहरू सम्झन्थे।
के भएको थियो भने, उनले सांस्कृतिक ज्ञान र सन्दर्भ भुलेका थिए। संवाद र सम्बन्धका कुराहरू बिर्सिएका थिए।
थोमस नयाँ यादहरू बनाउँदै थिए। उनको व्यक्तित्व बद्लिदो थियो। पहिले उनी केही अन्तर्मुखी थिए। तर, अब उनी मायालु र उत्साहजनक भएका थिए।
'मेरो भाइ दुर्घटनाका कारण खुशी थिएनन् तर उनले सधैं भने – तँ अझै बढी राम्रो भइस्,' उनी केही ठट्टा गर्दै सुनाउँछन्। उनकी आमाले पनि यो कुरा याद गरेकी रहिछिन्। थोमस केही बढी भावनात्मक थिए।
+++
शारीरिक रुपमा ठीक हुँदै जाँदा थोमस आफ्नो भविष्यलाई लिएर चिन्तित हुँदै गए। उनले आफ्नो विश्वविद्यालय जाने योजनाबारे सोचे। उनले डिजाइन पढ्ने लक्ष्य राखेका थिए। आफूले पहिले कोरेको चित्र हेर्दा ती प्रति एक रत्ति पनि रुची थिएन उनको।
'म कहिल्यै त्यो केटा थिएँ जस्तो नै लागेन, पूर्वज जस्तो। थिएँ भन्ने थाहा छ, उनीहरूको तस्विर हेरे पनि यथार्थ जस्तो नलाग्ने,' उनले भने, 'पहिलो वर्ष त मलाई यी कुराहरूले सताएनन्। हामी भर्खरका थियौं र भोलिको बारेमा मात्र सोच्यौं। जब बीस वर्षको भएँ तब सबैकुरा विगत् बन्यो।'
थोमसको भविष्यको टुङ्गो थिएन। उनका भाइबहिनी र साथीहरू भने करियर बनाउँदै थिए। परिवार र सन्तानसहित अघि बढिसकेका थिए।
'म एकदमै भाग्यमानी महसुस गर्छु कि म जीवित रहेँ। तर भविष्यको कठिन तथ्यहरूको सामना गर्नुपर्दा म नराम्रो महससु गर्न थाल्थेँ,' उनले सुनाए।
केही थियो उनको जीवनमा छुटिरहेको। प्रेम पाएका थिएनन् उनले।
सन् २०१० मा इन्टर्नेट डेटिङ सुरू गरेपछि भने उनले सोफीलाई भेटे। उनीसँग थोमसले निर्धक्क आफ्नो अवस्थाबारे कुरा गरे। उनीहरूको भेट भयो। पहिलो भेटपछि थोमसले सोफीलाई भनेका थिए – मलाई माफ गर। तर, म भोलि तिमीलाई चिन्दिनँ।
यतिखेर उनले आफ्नो 'फेस- ब्लाइन्डनेस'को बारेमा बताएका थिए। जुन अवस्थामा उनी कसैको पनि अनुहारको संरचना सम्झन सक्दैन थिए। दिमाग अनुहारहरू बिचको भिन्नता पहिल्याउन सक्दैन। त्यतिबेला उनले ठेगाना, परिवेशमार्फत् मानिसहरू ठम्याउन थालेका थिए। आवाज पनि मानिस पहिचान गर्थे उनी।
सोफीको हकमा भने अवस्था केही फरक थियो। उनीहरू भेट्नुअघि कपाल चम्किलो रातो बनाएकी थिइन्। वर्षौमा थोमसले भिडमा उभिएकी सोफीलाई चिन्न सके र सुरु भयो उनीहरूको प्रेम कथा। प्रेम सम्बन्धमा रहेको दुई वर्षपछि विवाह गरे। दुई छोरी जन्मिए। सोफीले कपालमा रातो रङ लगाउन कहिल्यै छाडिनन्। दुर्घटनाको दश वर्षमा थोमसले पुराना मानिस भेटे। ठाउँहरू घुम्न गए तर केही सम्झन सकेनन्। सोफीमात्र उनले चिन्ने एउटै पात्र बनिरहिन्।
थोमसको ३० औं जन्मदिनमा हो त्यो जादु भएको। उनी स्वयंले उत्सवका लागि ८० को दशकको गीतहरू छानेका थिए। ती गीत सुन्दै हुर्किएका थिए उनी। जन्मदिनको अघिल्लो रात उनी पल्टिएर एयरफोन लगाए र गीत सुन्न थाले। सबै गीतहरू उनलाई हृदयको नजिक लागेको थियो। 'द होल अफ त मुन' सुन्दा भने केही फरक महसुस भयो।
त्यो गीतले सबै कुरा बदल्दियो।
उनी फ्ल्यासब्याकमा पुगे। कुनै फोटो हेरेजस्तै, छोटो अवधिका लागि उनले ती कुराहरू सम्झिए जुन उनको दिमागबाट मेटिए सरह थियो। तर, त्यो सुरुवात थियो मेरो स्मरणको,' उनले भने।
सम्झनाहरूको दोस्रो लहर तब आयो जब थोमस वर्षौ पछि युट्युबमा 'द स्नोम्यान' हेर्दै थिए। उनी बाल्यकाल सम्झन खोज्दै थिए। ती भिन्न चित्र र संगीत सुन्दा उनले स्कूल क्यान्टिनमा बसेर खाना खाएको सम्झिए।
'मैले पढेको थिएँ भन्ने महसुस गर्न ती दृश्य पर्याप्त थिए,' उनले भने।
स-साना घटना, दृश्य वा आवाजहरूले स्मरण फर्काउन मद्दत पुर्याउने बताएका छन् डाक्टर कोलिन सिफले। यस्तोमा बास्ना, स्वाद र स्पर्शले पनि प्रभाव पार्न सक्ने बताएका छन्। डाक्टरले भनेका छन्, 'स्मरणमा बिस्तारै सुधार आउन सक्छ।'
थोमस भने आफ्ना दुई छोरीहरूलाई समेत चिन्न नसकेकोमा निकै दु:खी छन्। दुर्घटनापछि छारे रोग पनि लागेको छ उनलाई। त्यसैले हत्तपत्त घर छाड्न सक्दैनन्। होस गुमाउने डर रहन्छ उनमा। रित्ता लागेका यी वर्षहरूमा नयाँ याद समेट्नमा आफू लागि परेको बताउँछन्।
उनको सृजनात्मक लेखनमा मन छ। त्यसैले ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको लागि साहसनको काल्पनिक कथा लेखेका छन्। जसमा उनको मुख्य पात्रलाई छारे रोग लागेको हुन्छ। एक पटक ऊ कुनै स्मरणबिना जाग्छ। उ एक नायक हो जसले आफू शिकार हुनुअघि आफ्नो स्मृति फिर्ता ल्याउन संघर्ष गर्छ।
'म पहिला जे थिएँ त्यसको केही अंश थाहा पाउँदा खुशी छु। विगतका केही दृश्य सम्झना आउँदा म भविष्यबारे पनि आशावादी बनेको छु,' उनले सुनाए।