PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

गाउँ पस्यो महाकाली नदीको बाढी, भीमदत्त नगरपालिकाका १५ घर डुबानमा



रासस

गाउँ पस्यो महाकाली नदीको बाढी, भीमदत्त नगरपालिकाका १५ घर डुबानमा
फोटो : रासस।

  • राजेन्द्र प्रसाद पनेरु-

कञ्चनपुर : महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका-१२ का १५ घर डुवानमा परेका छन्। सो नदीमा बाँधिएको बाँधले भुजेला खोला थुनिएर  पानी गाउँ पसेको हो।

सो खोलाको पानीको निकासलाई ख्याल नगरी बाँध निर्माण गरिएकाले खोला गाउँ पसेको स्थानीय सुरेन्द्र मल्लले जानकारी दिए।

‘बाँध निर्माण गरेका बेला नै खोला थुनिन्छ भनेका थियौँ। त्यतिबेला कसैले सुनेनन्’, उनले भने, ‘अहिले गाउँ नै डुवानमा पर्‍यो।’

महाकालीको प्रभाव क्षेत्रबारे राम्रो अध्ययन नगरी काम गरिएकाले डुबानको स्थिति सिर्जना भएको भीमदत्त-१२ का वडाध्यक्ष कृष्णसिंह देउपाले बताए। नदीको बाढीले निर्माणाधीन पुल नजिकको बाँधमा समेत कटान शुरु गरेको छ। अहिलेसम्म बाँधमा झण्डै १० मिटर कटान गरिसकेको छ। कटान नियन्त्रण गर्न आपतकालीन तटबन्धको काम थालिएको छ।

तारजालीमा ढुङ्गा भरेर कटान रोक्ने प्रयास भइरहेको पिके निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले जानकारी दिए। भीमदत्त-१३ का वडाध्यक्ष लालबहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए।

गड्डाचौकीदेखि महाकाली नदीको पुलसम्म ६ लेनको पक्की सडक निर्माणाधीन छ। सडक भत्किएपछि बाढी बस्तीमा आउने त्रास बढेको छ। महाकालीमा पानीको बहाव बढेपछि नदी किनारका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

नदीमा जति बेला पनि पानीको मात्रा बढेर धनजनको क्षति हुन सक्ने जनाउँदै नदीमा दाउरा संकलनका लागि नजान र सचेत भएर बस्न सतर्क गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। नदीको भँगालोले खल्ला भएर ब्रह्मदेब जाने बाटो अवरुद्ध हुन पुगेको छ। बाटोसम्म पानी भरिएपछि स्थानीयको आवतजावत रोकिएको छ।

सो नदीमा पानीको बहाव बढेपछि खल्ला भएर ब्रह्मदेब आउने नदीको भँगालो बाटोसम्म पुगेको छ। भँगालो बाटोसम्म पुगेपछि आवतजावत रोकिएको रेडक्रसकर्मी करबीर चन्दले बताए। भीमदत्त-९ मा पर्ने खल्लासहित टुँडिखेल र मुसेट्टी महाकाली नदी किनारमा छन। तीन बस्तीमध्ये मुसेट्टी र खल्लामा महाकाली नदीको बाढी बस्तीमा पस्ने खतरा हुन्छ।

यसैबीच, महाकाली नदीमा पानी प्रवाह बढेपछि दोधारा चाँदनी नगरपालिकामा जोखिम बढेको छ। नगरपालिकाकाको वडा नम्बर १० का कुतियाकवर र शान्ति टोल क्षेत्रमा बाढीको खतरा बढेको छ। नदीको प्रवाहले जोगबुडा नदी थुनिएर शान्ति टोल डुबानमा परेको छ। जोगबुडा नदी थुनिएपछि कुतियाकवरमा पनि बाढी पस्ने चिन्ता बढेको छ।

स्थानीय महेश घिमिरे महाकालीले जोगबुडा थुनिँदा नदी किनारको १०/१२ बिगाह खेतीयोग्य जमिन डुबानमा परेको जानकारी दिए। बाढीका कारण डुवानमा परेका घरको नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतले अनुगमन समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell