PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बाढी-पहिरोबाट हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता* करिब दुई सय परिवार विस्थापित, कहाँ कति क्षति?



पहिलोपोस्ट

बाढी-पहिरोबाट हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता* करिब दुई सय परिवार विस्थापित, कहाँ कति क्षति?

काठमाडौंः असार १ गतेदेखिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता रहेका छन्। अन्य स्थानका ८ जना गरी २३ जना अझै बेपत्ता छन्। अन्य ८ जना मेलम्ची खानेपानी आयोजनाका कामदार हुन्। 

गाउँ कार्यपालिकाको कार्यालयले शनिबार साँझसम्मको प्रारम्भिक जनधनको क्षतिको विवरण सार्वजनिक गरेको हो। हेलम्बु गाउँपालिका सेमेसिदाङ हिमान मुनि रहेको भ्रेमाथाङ्ग चौरमा गएको पहिरोले गाउँपालिकाको वडा नम्बर १, २ र ६ मा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ।  

सार्वजनिक जानकारी अनुसार बाढी पहिरोमा परी ज्यान गुमाउनेमा वडा नम्बर १ मा ६ जना छन्। यस्तै, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ६ मा ४ जना र वडा नम्बर ७ मा १ जना बेपत्ता छन्। 

गाउँपालिकाका अनुसार मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ३ भारतीय, ३ चिनियाँ र २ नेपाली कामदार अझै हराइरहेका छन्। 

यस्तै बाढीका कारण एक मोटरेबलसहित तीन वटा पुल बनाएको छ। हेलम्बु २ मा रहेको चनौटेस्थित रातो पुल उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। 

बाढीका कारण गाउँपालिकाभित्रका ६ वटा झोलुङ्गे पुल बगाएको छ। 

यस्तै, काठमाडौंबाट मेलम्ची हुँदै हेलम्बु जाने सडकमा पनि विभिन्न स्थानमा बाढीले क्षति पु¥याएको छ। भूमेश्वरी तितेखानी खण्ड र किउल–तिम्बु–अम्बाथाङ सडकमा पनि बाढीले क्षति पुर्‍याएको छ। 

चनौटै बजार क्षेत्रसहित करिब दुई सय घरहरुमा बाढीले क्षति पुर्‍याएको छ। विभिन्न बस्तीबाट दुई सय हाराहारीमै घर परिवार विस्थापित समेत भएका छन्।  इलाका प्रहरी कार्यालयकाे भवन समेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ। 

गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ मा गरी आठ वटा ट्राउट फर्म पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

*यसअघि बेपत्ता हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। सं.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell