PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मध्यपुरथिमि नगरपालिकाले सबै वडामा गर्‍यो एन्टिजिन र पीसीआर परीक्षण



रासस

मध्यपुरथिमि नगरपालिकाले सबै वडामा गर्‍यो एन्टिजिन र पीसीआर परीक्षण

भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पीसीआर परीक्षण गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश संभाजीराव पाण्डबसहितको टोलीले आज विभिन्न केन्द्रमा परीक्षणको अनुगमन तथा निरीक्षण गरेका थिए। टोलीलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले एन्टिजिन र पीसीआर परीक्षणका बारेमा जानकारी गराएका थिए।

नगरपालिकाले आज साँझसम्म सबै वडाको तथ्याङ्क संकलन गरी आइतवार प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकालाई निःशुल्क आइसोलेसन र उपचार गरिने उनले बताए। एकै पटक १० हजारको एन्टिजिन र पीसीआर परीक्षण गर्ने उद्देश्य रहेको थियो।

भक्तपुर जिल्लामा संक्रमित र मृत्यु दर सबभन्दा बढी हुने बताइएको छ। सो नगरपालिकाले चिनियाँ मोडलमा एकैपटक एन्टिजिन र पीसीआर परीक्षण गरी कोभिड-१९ संक्रमणको विश्लेषण गर्ने भएको हो।

‘नगरबासी कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न परीक्षणका लागि स्थानीयको नमूना संकलन गरेका हौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘चीनले यहीँ विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, मध्यपुरथिमि नगरपालिकाले नेपालमा पहिलो पटक यो मोडलमा परीक्षण गर्ने भएको हो।’

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ। २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने उनले बताए। पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड संक्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानको रुपमा मूल्याङकन गर्न सकिने छ। यसैको आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell