PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स



पहिलोपोस्ट

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ। ६० हजार दर्शकका बीच हंगेरीको फेरेन्क पुस्कस एरेनामा सम्पन्न समूह 'एफ' को खेलमा खेलमा फ्रान्स र हंगेरी १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको सुरुबाट खेलमा फ्रान्सले राम्रो पकड बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा हंगेरीका अट्टिला फोइलाको गोलमा हंगेरीले खेलमा अग्रता लिएको थियो। दोस्रो हाफमा फ्रान्सका एन्टोनी ग्रिजमनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सको हार टारेका थिए। त्यसपछि पनि फ्रान्सले लगातार दवाब बनाएर पनि गोल फर्काउन सकेन।

यो सँगै पहिलो खेलमा जर्मनीलाई हराएको फ्रान्सले दुई खेलबाट ४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उता पहिलो खेलमा पोर्चुगलसँग पराजय ब्यहोरेको हंगेरीले विश्वकप विजेतासँग अंकबाँड्न सफल भएको हो।

आज हुने दोस्रो खेलमा जर्मनी र पोर्चुगल आमनेसामने हुनेछन्। जर्मनीको एलिनाज एरेनामा हुने खेलमा यी दुई हेबि वेट टिम भिड्नेछन्। आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन चाहनेछ। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा हराएको थियो। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

त्यस्तै भरे राति हुने तेस्रो खेलमा स्पेन र पोल्याण्ड भिड्नेछन्। दुबै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन्। समूह ई को आफ्नो पहिलो खेलमा स्वीडेनमाथि दवाब बनाएर पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको स्पेन पोल्याण्डविरुद्ध जितको खोजीमा हुनेछ। त्यस्तै स्लोभाकियासँग पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गरेको पोल्याण्ड पनि पहिलो जितको खोजीमा हुनेछ। खेल राति पौने १ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell