PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

समर्थ रञ्जित/पहिलोपोस्ट


 हेलम्बु : 'पाँच मिनेट पर्खिनुहोस् यो घर पनि ढल्छ।'

शनिवार सिन्धुपाल्चोकको हेलम्बुमा पुग्दा त्यहाँ एक स्थानीयले हामीलाई घरतिर देखाउँदै भनेका थिए।

केही दिनदेखि सिन्धुपाल्चोकमा बाढी र पहिरोले निम्ताएको विपत्तीबारे स्थलगत रिपोर्टिङको लागि हामी हेलम्बु पुगेका थियौँ। घर ढल्छ भन्ने स्थानीयको भनाई दिउँसो सवा ३ बजेतिरको थियो। मानिसहरू जम्मा भएर घर खोलाले बगाउन लागेको हेरिरहेका थिए।

केही मानिस मोबाइल हातमा लिएर लाइभमा व्यस्त थिए। लाइभ नगर्नेहरु पनि भिडियो रेकर्ड गरेर बसिरहेका थिए। बाढी पहिरोले निम्त्याएको कारुणिक विपत्ती फोटो वा शब्द बाटमात्र भन्न सक्ने अवस्था थिएन। अझै कति क्षति गर्ने हो? कुनकुन घर बगाएर लग्ने हो भन्ने कसैलाई मेसो थिएन। सबैका अनुहारबाट एउटै संदेश मात्र मिलिरहेको थियो - भय र त्रास।

'अस्तिदेखि नै यस्तै त्रासले छोएको छ। अघि केही समय अगाडि खोलाले यसरी नै नजिकैको भवन भत्काएको थियो। यो पनि पाँच मिनेटमा नै भत्किन्छ,' ती स्थानीयले फेरि थपे।

सबैको आँखा खोला छेउको घरमा गएको थियो। जति जति खोलाको भेलले किनारमा अड्किएको घरतिर सिघौंरी खेल्थ्यो त्यति नै मन चिसो हुन्थ्यो।

चार कोठाको बन्दै गरेको एक तले भवन। बिस्तारै खोलाको भेलले घरको भएको जगको माटो काट्दै गयो। मैले पनि त्यो दृश्यको लागि क्यामराको लेन्स त्यतैतिर तेर्साए। फेरि पानीको अर्को भल्कोले घरमा हाल्यो। घर कोल्टिन थाल्यो। बिस्तारै बिस्तार नभन्दै पाँच मिनेटको अन्तरालमा घर खोलामा हामफाल्न पुग्यो।

घरलाई खोलामा आएको बाढीले निल्यो। सिन्धुपाल्चोकमा केही दिनदेखि आएको बाढी पहिरोले अहिले सयौँ यस्ता घरमा क्षति पुर्‍याएको छ। मानिसहरुको त्रास यस्तै छ। यस्ता दृश्य मेलम्चीमात्र होइन नदी किनारका सबैजसो बस्तीहरुमा कुनै पनि बेला देखिन सक्छ। 



ट्रेन्डिङ पोस्ट

Ncell