PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आठ घुम्ती कटेर फुटबल खेल्न आउनेहरु ...

आठ घुम्ती कटेर फुटबल खेल्न आउनेहरु ...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


अहिले फुटबलको माहोल छ विश्वभर। कोपा अमेरिका र युरो कप प्रतियोगिता सँगसँगै भइरहँदा मानिसहरुलाई कोरोनाको त्रास भुल्न केही सहज भएको छ। नेपालमा पनि यी दुवै प्रतियोगितालाई लिएर फुटबलप्रेमीहरु उत्साहित छन्। निषेधाज्ञामा दिनभर घरभित्रै थुनिएकाहरु रातमा फुटबलमा झुमिरहेका छन् आजभोलि।

उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना हुन लागिसक्यो। शैक्षिक संस्थाहरु बन्द छन्। लकडाउन 'लुज' बनाइए पनि अहिले नै विद्यालय खुल्छ भन्ने अवस्था छैन। कतिपय विद्यार्थी अनलाइन कक्षा लिँदैछन्। कतिको न विद्यालय खुला छ न पढाई नै।

नगरकोटको बार्खीगाउँको फाँटमा भने केही बालकहरु दिनहुँ भेला हुने गरेका छन्। न त उनीहरुलाई निषेधाज्ञाले छोएको छ। न त फुटबलको ठूलो प्रतियोगिताबारे नै थाहा छ।

आठ घुम्ती कटेर नगरकोटमा रहेको फाँटमा हरेक दिन उनीहरु फुटबल लिएर पुग्छन्। साथीहरु मिलेर 'टिम' बनाउँछन् र खेलिरहेका हुन्छन्, कोही स्पोर्ट सुजमा त कोही चप्पलमा। अझ केही त खाली खुट्टामै। निषेधाज्ञामा विद्यालय बन्द हुँदा यसरी नै फुटबल खेल्न आउने बताउँछन् भेनस वाइबा।

कक्षा ४ मा अध्ययरत उनी गत वर्ष पनि लकडाउनका कारण विद्यालय राम्ररी जान पाएनन्। यसवर्ष पनि निषेधाज्ञाले पढाइ रोकियो। उपत्यकाभित्रै भए पनि संरचनाले साथ नदिँदा, अनलाइन कक्षा हुने सम्भावना छैन। घरमा यसै बसिरहन पनि मन लाग्दैन। त्यसैले हरेक दिनजसो साथीहरु बटुलेर उनी पुग्छन् फुटबल खेल्न।

'स्कुल खुलेको छैन। घरमा जहिले पनि त्यसै बस्न मन लाग्दैन। त्यसैले साथीहरु लिएर फुटबल खेल्न यहाँ आउँछौं,' उनले भने, 'घर टाढै छ। ८ घुम्ती कटेर आउनुपर्छ। रमाइलो लाग्छ।'

निषेधाज्ञा अघि पनि दिनहुँ जसो फुटबल खेलिरहने गर्थे उनी। निषेधाज्ञाको समयमा भने दिनमा तीन चार पटक साथीहरुसँग 'म्याच' खेल्न भ्याउँछन्। 

तर, फुटबल मात्रै कति खेल्नु! विद्यालय पनि सुरु भए हुन्थ्यो भन्ने लाग्छ उनलाई। 'स्कुल खुले पढ्न पनि पाइन्थ्यो। अझै साथीसँग खेल्न पाइन्थ्यो,' उनले सुनाए।



ट्रेन्डिङ पोस्ट

Ncell