PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सिन्धुपाल्चोकका कलाकारहरू भए एकजुट : दीर्घकालीन व्यवस्थापनका लागि समिति



पहिलोपोस्ट

सिन्धुपाल्चोकका कलाकारहरू भए एकजुट : दीर्घकालीन व्यवस्थापनका लागि समिति

काठमाडौं : सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन कलाकारहरूको समिति गठन भएको छ। अभिनेता कृष्ण मल्लको संयोजकत्वमा दीर्घकालीन व्यवस्थाका लागि कलाकारहरूले भूमिका निर्वाह गर्ने प्रतिवद्धतासहित समिति गठन गरिएको हो।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललगायतका जनप्रतिनिधिको उपस्थितीमा हिजो शनिवार कलाकारहरुको समिति गठन भएको हो। जसमा सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा लगायतले सहभागिता जनाएका थिए।

तत्काललाई राहत भन्दा पनि दीर्घकालीन रुपमा व्यवस्थापनका लागि समिति गठन गरिएको कलाकार कृष्ण मल्लले जानकारी दिए।

सिन्धुपाल्चोकमा पुलका साथै घरहरु बगाएका छन्।  घर बगाएकाका परिवारहरु अहिले अन्यन्त्र आश्रय लिएर बसिरहेका छन्।

'समितिले कोष स्थापना गरी सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचना पुननिर्माणका लागि सहायता गर्ने छ। उहाँहरुलाई स्थायी रुपमा बस्ने व्यवस्थाको लागि हामी कलाकारहरुको पहल र प्रयास हुनेछ।' मल्लले सुनाए।

घर लगायत पुल र विद्यालयको पुननिर्माण लागि कलाकारहरुले औद्योगिक क्षेत्र, गैरआवासीय नेपाली र सम्पुर्णलाई सहयोगको लागि आह्वान गर्ने उनको भनाई छ। थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने समेत उनले जानकारी दिए।

अभिनेता मल्लको संयोजकत्वमा समिति गठन भएसँगै अभिनेत्री करिष्मा मानन्धरले सहयोग दिने घोषणा गरेकी छिन्। बाढीपीडित बासिन्दालाई वर्षायाममा ओत लाग्ने छानोको व्यवस्था होस् भन्दै उनले एक लाख रुपैयाँ सहयोग गर्ने फेसबुकमार्फत जानकारी दिएकी छिन्। साथै सबैलाई सकेको जति सहयोग गर्न समेत उनले आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell