काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ९ सय ५६ जनामा गरिएको परीक्षणमा २ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजार १६२ पुगेको छ।
पीसीआर विधिबाट ६ हजार ६ सय ७७ र एन्टिजेन विधिबाट ४ हजार २ सय ४९ जनाको परीक्षण भएको थियो। सबैभन्दा धेरै संक्रमण थपिने दर कर्णाली प्रदेशमा रहेको मन्त्रालयका प्रवक्ता पौडेलले बताए। कर्णाली प्रदेशमा ७ सय ३७ जनामा गरिएको परीक्षणमा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै ३ हजार ४ सय ५६ जना संक्रमण मुक्त भएका छन्।
काठमाडौं उपत्यकाभित्र ५ सय ४८ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै यो अवधिमा देशभर संक्रमण भएका ५१ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर ३४ लाख ११ हजार ८ सय २८ जना कोरोना परीक्षण गरिसकिएको छ। जसमा ६ लाख ४७ हजार ६ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै ८ हजार ७ सय २६ जनाको मृत्यु भइसकेको छ।
अहिले ४२ जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ५ सय भन्दा बढी रहेको छ। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, कैलालीमा लगायत जिल्लाहरूमा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
