PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जब आफ्नै मृत्युको खबर फेसबुकमा देख्नु पर्‍यो…



पहिलोपोस्ट

जब आफ्नै मृत्युको खबर फेसबुकमा देख्नु पर्‍यो…

काठमाडौं : रेडियोमा समाचार बज्यो। २०७२ को भूकम्पमा ज्यान गुमाउनेको परिवारलाई सरकारले सरकारी जागिर दिने जानकारी दिइयो। जागिरको लोभले घरज्वाईं बसेका एक मानिसले जिउँदो ससुरालाई नै मरेको घोषणा गरे।

उनले ससुराको फोटोमा पहेँलो टिका र माला लगाइदिए। काजक्रिया गरे।

बुधबार बिहान ११ बजे। निषेधाज्ञाका कारण उनी घरमै थिए। फुर्सदमा फेसबुक स्क्रोल गरिरहेका उनको फोनमा मेसेजको घण्टी बज्यो। नुवाकोटे साथीको नाम स्क्रिनमा देखे। निकैपछि साथीसँग गफिने कुराले दङ्ग थिए। तर, उनले त एउटा लिंक पठाएका रहेछन्। जसमा लेखिएको थियो – सुरविर पण्डित उर्फ दाह्री बाको निधन।

सुरुमा उनले त्यसलाई आफू अभिनित हाँस्य टेलिश्रृङ्खला 'मेरी बास्सै'को प्रचार सामाग्री ठाने र मतलव गरेनन्। तर, केहीबेरमा उनको च्याटबक्समा मेसेजको ओइरो नै लाग्यो। फोनको घण्टी निरन्तर बज्न थाल्यो। त्यसपछि बल्ल झस्किए उनी। उनले सोचेका पनि थिएनन् रिल लाइफ बाँचेको समय रियल लाइफमा बाँच्नु पर्ला भन्ने।

तर, समाचार लेख्नेले झुट लेख्यो। क्लिकका लागि। सामाजिक सञ्जालभरी छायो खबर।

स्क्रिनमा जिउँदै उनको काजक्रिया भयो। यथार्थमा जिउँदै उनलाई श्रद्धाञ्जली र समवेदना ग्रहण गर्नुपर्‍यो। घटनाले खिन्न बनायो उनलाई। भन्छन्, 'आफ्नै मृत्युको खबर सुन्दा धेरै दु:ख लाग्दो रहेछ। मृत्युको हल्ला फैलाउने देखि निकै रिस उठेर आयो। घरबाहिर भएको भए यस्तो मृत्युको खबर सुन्दा परिवारमा अप्रिय घटना घट्न सक्थ्यो। धन्न घरमै थिएँ।'

सामाजिक सञ्जालमा छाएको खबर फेलनबाट कसरी रोक्नु? सम्भव कुरा थिएन। त्यसैले भोलिका दिनमा यस्तै गैरजिम्मेवार खबर फैलाउनुअघि सोचुन् र कुनै परिवारले अप्रिय अवस्था भोग्न नपरोस् भनेर अपवाह फैलाउनेविरुद्ध कारवाहीको लागि पहल गरेको बताए पण्डितले।

भने,'हल्ला चाहनेहरूले त जे पनि बोल्छन्, लेख्छन्। तर सचेत दर्शकले जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिनुअघि सोच्नुपर्छ। खबर कति साँचो र जिम्मेवार माध्यमबाट आएको छ ख्याल गर्नुपर्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell