PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोभिड-१९ भन्दा खराब शासक : ब्राजिलको क्रुर अवस्था, रोगको नाममा नरसंहार!



विधुर ढकाल

कोभिड-१९ भन्दा खराब शासक : ब्राजिलको क्रुर अवस्था, रोगको नाममा नरसंहार!

कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ब्राजिलमा पाँच लाख नाघेको छ। ब्राजिलमा त्यस्ता विरलै मान्छे भेटिएलान जसले कोभिड-१९ का कारण आफन्त नगुमाएका हुन्- एक स्थानीय वैज्ञानिक भन्छन्।

महादेशकै आधा जनसंख्यालाई बास दिइरहेको दक्षिण अमेरिकी राष्ट्र अहिले भाइरसका कारण बर्वाद भएको छ। जुन १८ मा ब्राजिल एक्लैमा मात्र विश्वको कुल कोभिड-१९ को मृत्युमध्ये एक-तिहाइ रेकर्ड भएको आवर वर्ल्ड इन डाटाको तथ्यांकमा उल्लेख छ।

जनस्वास्थ्य विज्ञहरुले भाइरस देशभर अनियन्त्रित तरिकाले वृद्धि भइरहेको चेतावनी दिएका छन्। यो पाँच लाख मृत्यु छ महिना अगाडिको मृत्युभन्दा दोब्बरले बढी हो।

'गत वर्ष जुनमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पचास हजार पुगेको थियो। यो एक वर्षमा यो संख्या १० गुणाले बढेको छ। यो एकदम भयानक हो,' ब्राजिलका न्युरो साइन्टिस्ट मिगुएल निकोलेलिसले सिएनएनसँग भनेका छन्। उनले गत जनवरीमा नै मृत्यु हुनेको संख्या पाँच लाख पुग्ने अनुमान सार्वजनिक गरेका थिए। 'त्यतिबेला मानिसहरुलाई लागेको थियो मृत्युको संख्यालाई बढाइचढाइ गरिएको छ,' उनले स्मरण गरे।

महामारी नियन्त्रणमा सरकार असफल बन्दै जाँदा त्यहाँका सर्वसाधरण सरकार र राष्ट्रपति जैयर बोल्सोनारोविरुद्ध सडकमा उत्रिएका छन्। उनीहरुको आरोप छ कोभिड-१९ भन्दा बढी घातक बोल्सोनारो सावित भएका छन्।

शनिबार ब्राजिलभर सडकमा राष्ट्रपतिविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। रियो दि जेनेरियोमा हजारौँ मानिसहरु भेला भएर, 'गेट आउट बोलसोनारो। भोक र वेरोजगारको सरकार' भन्ने नारा लेखिएका झण्डाहरु फहराएका छन्।

'ब्राजिल यतिबेला ठूलो असफलताको अनुभव गरिरहेको छ। देश विश्वका लागि खोप अभियानमा उदाहरण थियो। हामीसँग प्रयाप्त मान्यता प्राप्त संस्थाहरु छन्। तर आज हामी यो दु:खद् अवस्थामा आइपुगेका छौँ,' प्रदर्शनमा जोडिएका एक २० वर्षका विद्यार्थी इसावेल गुल्जोरले एपीसँग भनेका छन्।

सडकमा अन्य र्‍याली भएका छन्। जहाँ राष्ट्रपतिविरुद्ध नारा लगाइएको छ- 'पाँच लाख मृत्यु उनको गल्ती हो।' यस्ता मार्चपास ब्राजिलका २६ राज्यहरुमा देखिएका छन्। जसमा संघीय जिल्ला ब्रासिलियामा पनि देखिएको छ। यी र्‍यालीहरुलाई स्थानीय वामपन्थी विपक्षी दलले समर्थन गरेका छन्।

रियोमा निस्किएको प्रदर्शनका प्रदर्शनकारीहरुले राष्ट्रपतिलाई नरसंहारवादी भनेका छन्। उनीहरुले पूर्वराष्ट्रपति वामपन्थी नेता लुइज इनासियो लुला द सिल्भाको तस्विर अंकित मास्क र टिसर्ट लगाएका छन्।

साओ पाओलोमा प्रदर्शनकारीहरुले कोभिड-१९ बाट पीडितहरुको सम्मानमा रातो बेलुन उडाएका छन्।

गत महिनाहरुमा बोल्सोनारोका समर्थकहरु सडकमा उत्रिँदै आएका थिए। उनीहरुले राष्ट्रपतिको प्रतिवन्ध खारेज गर्ने निर्णयको स्वागत गरेका थिए। उनीहरु लकडाउनको विरोधमा थिए।

उनका आलोचकहरुले बोल्सोनारोको यस्तो सन्देशले थप घातक अवस्था सिर्जना गरेको आरोप लगाएका छन्। त्यस्तै उनको अस्वीकृत उपचार पद्धति हइड्रोक्सिक्लोरोक्वाइन मृत्युको संख्या बढ्नुको कारण मानिएको छ। हालसम्म देशको १२ प्रतिशत मात्र जनसंख्यालाई भ्याक्सिन दिइएको छ। २१ करोड तीन लाख जनसंख्या रहेको ब्राजिलमा दैनिक एक लाख नयाँ संक्रमित र दुई हजार मृत्यु रेकर्ड हुँदै आएको छ।

गत सातामात्र बोल्सोनारोले आफ्ना समर्थकहरुको मोटरसाइकल परेडलाई साओ पाओलोमा नेतृत्व गरेका थिए। त्यसको सातापछि विपक्षीहरुले उनको विरोधमा देशभर प्रदर्शन गरेका हुन्।

'वामपन्थीहरुका लागि आफ्ना समर्थकलाई सडकमा उतारेर बोल्सोनारोलाई निर्वाचनको अगाडि तह लगाउनु एउटा उपाय हुन सक्छ,' साओ पाओलोको इन्सपर विश्वविद्यालयका राजनीति शास्त्रका प्रध्यापक लियनड्रो कोन्सेन्टिनोले भने, 'तर, यही समय उनीहरु आफैँ विरोधाभाषपूर्ण काम गरिरहेका छन्। उनीहरुले स्वास्थ्य मापदण्ड उल्लंघन गरेका छन्। उनीहरु पनि बोल्सोनारोले जस्तै विपत् निम्त्याउँदै छन्।'

सरकारका कार्यहरुको कंग्रेसले अनुसन्धान गरिरहेको बेला बोल्सोनारोका लागि सत्ताको शक्ति देखाउँदै आफ्नो पक्षमा जनमत रहेको देखाउन आवश्यकत थियो। त्यसैका लागि पनि उनले र्‍याली गरेका थिए।

कहाँ चुक्यो ब्राजिल?

ब्राजिलमा कोभिड-१९ को संक्रमण उच्च विन्दुमा पुग्दा पनि त्यहाँको संघीय सरकारले प्रतिवन्धात्मक नीति नअपनाउनु नै मृत्यु संख्या उच्च हुनुको कारण रहेको पेलोटास संघीय विश्वविद्यालका प्रध्यापक तथा संक्रमक रोग विशेषज्ञ पेड्रो हल्लाल बताउँछन्। संघीय सरकारको सहभागिता विना स्थानीय रुपमा गरिएको लकडाउनको कुनै प्रभावकारिता थिएन्।

राष्ट्रपति बोल्सोनारोले पनि पाण्डेमिकको गाम्भीर्यतालाई मनन् गरेनन्। उनी आफैँले कोभिड-१९ लाई सामान्य रूघाखोकीको संज्ञा दिए

एक वर्ष अगाडि बोल्सोनारो भेलाहरुमा सहभागी हुँदै लकडाउनको विरोधमा भन्ने गर्थे- 'यी मानिसहरु स्वतन्त्रता चाहन्छन्। उनीहरु प्रजातन्त्र चाहन्छन्। उनीहरु सम्मान चाहन्छन्।'

गत वर्ष मे'मा तीन लाख तीस हजार संक्रमण पुष्टि हुँदै अमेरिकापछि सबैभन्दा बढी संक्रमण पुष्टि हुने देश ब्राजिल थियो। त्यतिबेला उनले बन्द रहेका व्यवसाय खुला गर्न निर्देशन दिए। अधिकांश गभर्नर उनको निर्देशनको विरोधमा थिए।

उनको निर्देशनको चिकित्सकहरुले निन्दा गर्दै असान्दर्भिक निर्णय भएको आरोप लगाएका थिए।

राष्ट्रपति आफैँ लकडाउन विरोधी सभामा पुगेर भाषण गरे। समर्थकमाझ गएर 'पुसअप' गर्दै भेला हुन हौस्याए

यसबीच डब्लुएचओले कोभिड-१९ लाई विश्वव्यापी पाण्डेमिक घोषणा गरेपछि बोल्सोनारो ८४ वटा ठूला भेला तथा सभाहरुमा सहभागी भएको ब्राजिलको पत्रिका ओ ग्लोबोको सर्भेले देखाएको छ।

कोभिड-१९ विरुद्ध राज्यको आधारभूत प्रोटोकल पनि कमजोर भएको संक्रामक रोग विशेषज्ञ हल्लालले बताएका छन्।

उनले ल्यान्सेटमा एक रिपोर्ट प्रकाशित गर्दै यदि डब्लुएचओको स्वास्थ्य निर्देशिका पालना भएको भए, ब्राजिलमा मृत्यु भएका  चारमध्ये ३ को जीवन जोगाउन सकिने बताएका थिए। गत जनवरी २१ मा ब्राजिलमा दुई लाख १२ हजार हजार ८९३ जनाको मृत्यु भएको थियो। डाक्टर हल्लालले आफ्नो रिपोर्टमा लेखेका छन्- ब्राजिलको दु:खद कोभिड-१९ नीति महंगो रुपमा आयो। २१ करोड १० लाख जनसंख्या रहेको ब्राजिलले विश्वको २.७ प्रतिशत जनसंख्या ओगट्छ। यदि कोभिड-१९ को विश्वको मृत्युलाई हर्ने हो भने कुल मृत्युको २.१ प्रतिशत मान्दा पनि ५६ हजार ३११ जनाको मृत्यु हुनुपर्थ्यो। २०२१ जनवरी २१ सम्म दुई लाख १२ हजार ८९३ जना कोभिड-१९ को कारण मारिएका छन्। अर्को शब्दमा भन्दा एक लाख ५६ हजार ५८२ जनाले राज्यको गलत नीतिका कारण ज्यान गुमाएका छन्।

उनले औसत देशका सरकारले जस्तै ब्राजिल सरकारले पनि कोभिड-१९ विरुद्ध लडेको भए पाँचमध्ये चार मृत्युलाई टार्न सक्ने उनको टिमले बताएको थियो।

त्यस्तै गत वर्ष मार्चमा इम्पेरियल कलेज लण्डनको एक रिपोर्टमा ब्राजिलमा ४४ हजारदेखि १०  लाखसम्म मानिसको मृत्यु हुने प्रक्षेपण गरेको थियो। कोभिड-१९ नियन्त्रणका कस्ता उपायहरु अपनाइन्छ -मृत्युको संख्या त्यसैमा भर पर्ने बताइएको थियो।  

'हामीले विश्वमा कोभिड-१९ को संक्रमण ओरालो लागेको देखेका छौँ। तर ब्राजिलमा बढिरहेको छ। यसको पछाडिको कारण के हो? यो जनसंख्याको अनावश्यक विनास हो। हामी सबै ब्राजिलीहरूले हाम्रा नजिकका आफन्त गुमाएका छौँ। कोही नजिकका नगुमाएका एक ब्राजिली फेला पार्न गाह्रो छ,' हल्लाले भनेका छन्, 'हामी (वैज्ञानिक) हरुले चेतावनी दिएका थियौँ। तर अभ्यासमा केही पनि भएन्।'

भ्याक्सिन सहयोग अस्वीकृत

अहिले जम्मा १२ प्रतिशत मात्र जनसंख्याले कोभिड-१९ विरुद्धको खोप पाएको ब्राजिलले खोप सहयोगलाई भने अस्वीकार गरेको तथ्य आएको छ। कोभिड-१९ नियन्त्रणको कमजोरीको अनुसन्धान त्यहाँको संसदीय अनुसन्धान समितिले (सीपीआई) ले गरिरहेको छ। ब्राजिलको सिनेटले नेतृत्व गरेको अनुसन्धानलाई बोल्सोनारो र उनका समर्थकले संघीय सरकारलाई कमजोर बनाउन अनुसन्धान थालिएको आरोप लगाएका छन्।

सीपीआईको अनुसन्धानमा ब्राजिल सरकारले भ्याक्सिनका लागि फाइजरले पठाएका ८१ वटा इमेललाई नजरअन्दाज गरेको फेला पारेको छ। फाइजरले गत अगस्टमा भ्याक्सिन अमेरिकालाई दिएको भन्दा आधा मूल्यमा उपलब्ध गराउने प्रस्ताव राखेको थियो।  

त्यस्तै सीपीआईले कोभिड-१९ को उपचारमा हाइड्रोक्सिक्लोक्विनको प्रयोगको विषयमा पनि अनुसन्धान गर्ने छ।  यो टोलीले सरकारका प्रतिनिधि, सरकारका मन्त्री, उनको क्याविनेटका पूर्वमन्त्रीहरुसँग बयान लिएको छ।

यो अनुसन्धान टोलीले न्यायाधीशले जस्तै अनुसन्धान गर्न सक्ने, साक्षीहरुको बयान लिन सक्ने, सार्वजनिक रुपमा सूचना तथा कागजात झिकाउन सक्ने अधिकार छ।  

कोपा अमेरिका

स्वास्थ्य संकटको अवस्था रहँदै गर्दा ब्राजिलले कोपा अमेरिका आयोजना गरिरहेको छ। अर्जेन्टिना र कोलम्बियाले कोपा अमेरिका आयोजना गर्न अस्वीकार गरेपछि राष्ट्रपति बोल्सोनारोले प्रतियोगिता आयोजनाको घोषणा गरेका थिए।

जुन १८ मा मात्र कोपा अमेरिकासँग जोडिएका ६३ कोभिड-१९ का केस दर्ता भएका थिए। जसमध्ये १४ जना भेनेजुएलाका प्रतिनिधि टोली हुन्। ब्राजिलको राष्ट्रिय टोली पनि आयोजनाबाट असन्तुष्टि जनाउँदै प्रतियोगितामा सहभागी भइरहेको छ।

'हामीले लकडाउन गरेनौँ। हामीले उडान रोकेनौँ। ब्राजिलले विश्वका सबै कुनाबाट भेरिन्टहरु ग्रहण गरिरहेको छ। नयाँ भेरियन्ट सी ३७ भेरियन्ट देखिँदै गर्दा ब्राजिलले यस क्षेत्रका प्रतिनिधिहरुलाई खेल खेल्न स्वागत गरिरहेको छ। कोपा अमेरिकाले देखाएको छ कि संघीय सरकारका अधिकारीहरुमा मानिसको जीवनप्रति सम्मान छैन,' न्युरो साइन्टिस्ट निकोलेलिसले भनेका छन्।

उनले ब्राजिलको भविष्य कस्तो हुने? अर्को चरणमा ब्राजिलले कस्तो संकट ब्यहोर्ने हो अनुमान गर्न मुस्किल रहेको बताएका छन्। हरेक वेभहरु फरक-फरक छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell