PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ब्राजिलमा कोरोनाका कारण १३ सयभन्दा बढी बालबालिकाको मृत्यु, किन अन्यौलपूर्ण छ तथ्याङ्क?



पहिलोपोस्ट

ब्राजिलमा कोरोनाका कारण १३ सयभन्दा बढी बालबालिकाको मृत्यु, किन अन्यौलपूर्ण छ तथ्याङ्क?

एक डाक्टरले जेसिका रिकार्टेको छोरामा कोभिड-१९ को परीक्षण गर्न मानेनन्। कारण - एक वर्षीय ती बालकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षणहरू थिएनन्। ठीक दुई महिनापछि ती बालकको अनेक स्वास्थ्य समस्याका कारण मृत्यु भयो।

सन्तान चाहेको दुई वर्षसम्म गर्भ नरहेपछि जेसिकाको जीवनमा निराशा छाएको थियो। शिक्षण पेशामा रहेकी उनले बाँझोपनको उपचार समेत गराइन्। जब सन्तान भयो तब नाम दिइन् – लुकास जसको अर्थ हुन्छ, प्रकाश। 'उ हाम्रो जीवनमा उज्यालो बोकेर आएको थियो। उसले नै हो खुशी हामीले कल्पना गरेभन्दा बृहत हुन्छ भन्ने महसुस गराएको,' बीबीसीसँग जेसिकाले भनेकी छिन्।

तर, एक्कासी छोराको अरुची बढेपछि उनलाई शंका लाग्यो। सुरुवातमा त दाँत उम्रन लागेकाले खान मन नगरेको अनुमान थियो उनको। बच्चाको हजुरआमा नर्स हुन्, उनले घाँटी दुखेको हुनसक्ने बताएकी थिइन्। बिस्तारै जोरो बढ्दै गयो। लुकासको स्वासप्रस्वासमा पनि समस्या हुन थाल्यो। त्यसपछि हो जेसिकाले उसलाई अस्पताल पुर्‍याएको, कोभिड जाँच गराउन।

डाक्टरले शरीरमा अक्सिजनको मात्रा जाँच गर्दा ८६ प्रतिशत मात्र थियो। त्यो सामान्य अवस्था थिएन। तर, लुकासमा संक्रमण परीक्षण भएन। डाक्टरले नै बालबालिकामा कोभिड-१९ को संक्रमण कमै हुने भन्दै केही एन्टिबायोटिक्स दिएर पठाइन्।

औषधि खुवाउन थालेको दशौं दिनमा लक्षणहरू देखिन छाडे। तर, लुकास सधैं थाकेजस्तो देखिन्थ्यो। जसलाई उसको अवस्थाबारे सुनाउँथिन् सबैले धेरै सोचेको भनिदिन्थे। 'तर मलाई थाहा थियो मेरो छोराले सहजै सास फेरिरहेको थिएन,' उनले सुनाइन्।

घटना मे २०२० को हो। त्यतिबेला उनी बस्ने शहरमा संक्रमणका कारण दुई जनाले ज्यान गुमाइसकेका थिए। संक्रमणदर पनि बढ्दो थियो। त्यसैले जेसिका र उनका श्रीमानले छोरालाई अस्पताल लग्नु जोखिमपूर्ण हुने ठाने। तर एक महिनामा छोरा निदाइ मात्र रहने भइसकेको थियो। अस्पताल लगेर परीक्षण गराउँदा संक्रमण पुष्टि भयो। लगत्तै उनलाई उपचारका लागि आइसियूमा भर्ना गरियो। त्यसपछि उनमा मल्टि-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम अर्थात्‍ बहुप्रणालीगत् समस्याहरू देखियो। कोभिड-१९ विरूद्ध शरीरले देखाउने इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने रोग हो यो। जसका कारण लुकासलाई इम्युनोग्लोबुलिन नामक निकै महङ्गो औषधि दुई पटक दिनुपर्‍यो। तर औषधि दिएपछि पनि उसलाई खोकी लाग्यो, शरीरमा फोकाहरू देखिए, सास फेर्न गाह्रो भइरहेको थियो। छोरालाई भिडियो कलमार्फत् हेर्थे जेसिकाको दम्पत्ती। बिस्तारै उसको हेराइ नै अस्वभाविक देखिन थाल्यो। सिटिस्क्यानपछि डाक्टरले लुकासलाई स्ट्रोक भएको पत्ता लगाए।

त्यतिबेला पनि डाक्टरहरूले लुकासलाई ठीक हुने र चाँडै जेनेरल वार्डमा सारिने बताइरहेका थिए।

तर, एक बिहान उसको शरीरमा अक्सिजनको मात्रा र ढुकढुकी स्वात्तै घटेको जानकारीसहित फोन आयो। लुकासलाई बचाउन नसकेकोमा माफी मागिन् डाक्टरले।

अस्पताल पुर्‍याउँदासम्म लुकासको फोक्सो ७० प्रतिशत र मुटु ४० प्रतिशत सुन्निएको थियो। उपचारमा खटिएकी डाक्टर म्यान्युएला मोन्टेका अनुसार समयमा समस्या पहिचान भएको र उपचार पाएको भए लुकास मृत्युको मुखमा पुग्दैन थिए।

संक्रमण पहिचान नहुने तर कोभिडकै कारण ज्यान गुमाउने लुकास एक्लो बालक होइनन्। कोरोना भाइरसको महामारीबाट अति प्रभावितमध्ये एक देश, ब्राजिलमा मृत्युदर उच्च विन्दुमा पुगेको छ। कोभिड-१९ ले बालबालिकामा धेरै गम्भीर असर गर्दैन भन्ने तथ्याङ्कहरू बिच त्यहाँ भने संक्रमणकै कारण मर्ने बालबालिकाको संख्या एक हजार तीन सय पुगेको छ।

बालबालिकालाई कोभिडको जोखिम छैन भन्ने गलत बुझाइ रहेको बताउँछिन् डाक्टर फातिमा मरिन्हो। उनको अध्ययनले बालबालिकामा संक्रमणको अस्वभाविक दर पुष्टि गर्‍यो। सन्‍ २०२० को फेब्रुअरीदेखि २०२१ को मार्च १५ सम्ममा कोभिडकै कारण ब्राजिलका ८ सय ५२ जना बालबालिकाको मृत्यु भयो। तीमध्ये प्राय ९ वर्ष उमेर समूहका थिए। ५ सय १८ जना एक वर्षभन्दा कम उमेर समूहका थिए। अध्ययनले देखाएभन्दा दुई गुणा बढी बालबालिकाले कोभिडका कारण ज्यान गुमाएको हुनसक्ने बताउँछिन् डाक्टर फातिमा।

'महामारीको बेलामा बालबालिकामा स्वास प्रस्‍वासको समस्या देखिएको छ। अघिल्ला वर्षहरूमा भन्दा १० गुणा बढी बालबालिकाको स्वास प्रस्वासकै कारण मरेका छन्,' उनले बीबीसीसँग भनेकी छिन्।

नौ वर्षभन्दा मुनिका करिव २ हजार ६० जना बालबालिकाले संक्रमणपछि ज्यान गुमाएको उनको अध्ययनले देखाउँछ। तीमध्ये १ हजार ३ सय २ मृत्यु दर्ता भएका छन्। कोभिडको परीक्षण कम हुनु र सबै केस दर्ता नहुनुले यकिन तथ्याङ्क पत्ता लगाउन समस्या भएको बताउँछिन् उनी।

पहिलो पटक सन् २०२० को अप्रिलमा बेलायतमा बालबालिका वा किशोर किशोरीको स्वास्थ्यमा कोभिड-१९ पछि बहुप्रणालीगत् समस्याहरू देखिएको थिए। त्यसपछि कोरोना भाइरस संक्रमितको संख्या उच्च भएका अन्य देशहरूमा पनि उस्तै प्रकृतिको समस्या पहिचान भएको थियो। तीमध्ये धेरै बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका थिएनन्। तर, समस्या बढ्दै जाँदा आइसीयूमै राखेर उपचार गर्नुपर्थ्‍यो। र अधिकांशमा कोरोना भाइरसको एन्टिबडी भने पोजेटिभ देखियो। प्रायमा एउटै लक्षण- शरीरका धेरै भाग वा प्रणालीहरू सुन्निएको हुन्थ्यो।

कोभिड-१९ पछिमात्र देखिएको यस रोगले बहुप्रणालीमा असर गर्ने भएकैले यस रोगलाई ‘पेडियाट्रीक मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम’ नाम दिइयो। कोभिड-१९ विरूद्ध शरीरले देखाउने इम्युन प्रतिक्रिया असन्तुलित हुँदा देखिने यस रोगलाई मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम इन चिल्ड्रेन 'एमआइएस-सी' पनि भनिएको छ।

यस रोगले थाहा नदिई आक्रमण गर्छ। तर, अभिभावकले यस रोगबारे समयमै थाहा पाउनु पर्छ। त्यसका लागि सामान्य लक्षण देखिएको अवस्थामै बालबालिका वा किशोरकिशोरीमा कोरोना भाइरसको परीक्षण वा एन्टिबडी टेस्ट गरिनुपर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell