यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ।
इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ दोस्रो हाफमा वेल्सका इथान अम्पाडु रेडकार्ड खाँदै बाहिरिँदा वेल्स १० खेलाडीमा समेटिएको थियो। यद्यपि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा पेसिनाको गोल नै खेलका लागि निर्णायक बन्यो।
त्यस्तै आजै अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई ३-१ गोलअन्तरले हरायो। खेलको छैटौं मिनेटमै हरिस सेफेरोभिचको गोलमा अग्रता बनाएको स्वीजरल्याण्डका लागि हेर्डन शाक्विरीले दुई गोल थपे। उनले खेलको २६ र ६८ औं मिनेटमा गोल गरेका थिए। उता टर्कीका लागि इर्फान काहभेचीले ६२ औं मिनेटमा गोल फर्काए।
समूह चरणको खेल सकिएसँगै इटली तीन खेलमै जित निकाल्दै ९ अंक जोडेर दोस्रो चरणमा पुगेको छ। त्यस्तै वेल्स र स्वीजरल्याण्डले समान ४ अंक जोडे पनि गोलअन्तरको आधारमा वेल्स अन्तिम १६ मा पुगेको छ। तेस्रो स्थानमा रहेको स्वीजरल्याण्डको भने अझै सम्भावना रहन्छ यद्यपि समीकरण कुर्नुपर्ने हुन्छ। त्यस्तै टर्की तीनै खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।