PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

साउदी जानेसँग दुई लाखसम्म असुली, कोभिडको नाममा हवाई कम्पनीले सर्वसाधारण लुटिरहँदा सरकार नै साक्षी



वसन्तराज उप्रेती

साउदी जानेसँग दुई लाखसम्म असुली, कोभिडको नाममा हवाई कम्पनीले सर्वसाधारण लुटिरहँदा सरकार नै साक्षी

काठमाडौं : साउदी आरेबिया जाने अधिकांश नेपालीको मासिक कमाइ औसतमा २५ देखि ३० हजार रुपैयाँको हाराहारीमा हुन्छ। तर रोजगारीका लागि त्यहाँ जानेसँग हवाई भाडामात्र दुई लाख रुपैयाँसम्म असुलिरहेको छ। कोभिड-१९ को त्रास देखाउँदै कम्पनीहरुले रोजगारीमा जानेहरुमाथि लुट मच्चाउन शुरु गरेको हो

वैदेशिक रोजगारीमा गएर बिदामा आएकाले पुनः साउदी फर्किँदा मात्र यति मूल्य तिर्नुपरिरहेको छ। पहिलोपटक रोजगारीका लागि विदेशिनेले म्यानपावरलाई यसबाहेक पनि छुट्टै तिर्नुपर्ने त छँदैछ।

साउदी जान श्रमिकले म्यानपावरलाई उक्त करिब दुई लाख रुपैयाँका अतिरिक्त थप एक लाख रुपैयाँ बुझाउनुपर्छ। यसरी साउदी पुग्नका लागि नै अहिले लाग्ने तीन लाख बुझाउन मात्रै एक वर्षको श्रम खर्चिनुपर्छ। 

साउदी मात्र नभएर नेपालबाट अहिले सोझो उडान रोक लगाइएका अन्य देश पुग्ने श्रमिक पनि यस्तै बाध्यतामा छन्। यसरी कोभिड संक्रमणको नाममा विदेश पुग्ने श्रमिक खुलमखुला लुटिइरहेका छन्। 

विदेशमा श्रम पसिना खर्चिएर रेमिटेन्स पठाउनेहरुमाथिको यस्तो खुला लुटमा सरकारी निकाय भने मुकदर्शक बनेको छ। महामारीका बखतसमेत ऋणधन गरेर विदेशिएकामाथि भइरहेको यो लुटमा सरकार नै साक्षी बसेको छ। 

कोभिड-१९ संक्रमण बढेपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिदिएको थियो। बीचमा तीन देश (टर्की, कतार र भारत) मा नियमित उडान खुला गरेपनि नेपालीका अन्य सबै वैदेशिक रोजगारी गन्तव्यको उडान भने बन्द नै छ अहिलेसम्म पनि। 

अन्तर्राष्ट्रिय उडान बन्द भएपनि चार्टरलाई भने निर्वाध छाडियो। त्यसपछि सुरु भयो चार्टरका नाममा लुटतन्त्र। 

अहिले काठमाडौं-दम्माम चार्टर उडान हिमालय एयरलाइन्सले गरिरहेको छ। आक्कलझुक्कल सलाम एयरले पनि चार्टर उडान गरिरहेको छ। 
नियमित उडान रोकिएका नेपालीका वैदेशिक रोजगारी गन्त्वयहरुमा गरिने चार्टर उडान वायुसेवा कम्पनी र केही विचौलियाका लागि भने कमाउने राम्रो माध्यम बनेको छ।

नियमित उडान हुँदा काठमाडौं-दम्माम-काठमाडौंको दुईतर्फी उडान भाडा ४५ हजार रुपैयाँको हाराहारीमा आउँछ। तर अहिले एकतर्फी भाडा नै १४ दिनको होटल क्वारेन्टिनसहितको प्याकेज जोडेर दुई लाख रुपैयाँ हाराहारी असुल गरिएको छ। 

साउदीमा रहेका नेपालीहरुका अनुसार, त्यहँ यतिबेला तीन तारेस्तरको होटलमै १४ दिनको क्वारेन्टिन प्याकेज ६० देखि ७० हजार रुपैयाँ हाराहारीमा सजिलै पाइन्छ। तर नेपालबाट हिमालय एयरलाइन्सको चार्टर उडानबाट १४ जुनमा साउदीको दम्माम उडेका केही नेपालीको भनाइमा उनीहरुलाई त्यहाँ राखिएका होटल तारे स्तरका होइनन्। 

तिनै मध्येका एकजनाले भने, 'हामीलाई यहाँ क्वारेन्टिन राखेको होटल सामान्य छ, खानेकुरा पनि खाइनसक्नु रहेछ । म एक लाख ७५ हजार तिरेर दम्माम आएको हो। अब रियाद पुग्न फेरि छुट्टै खर्च लाग्छ, यहाँबाट चार सय किलोमिटरभन्दा टाढा पर्छ।'

काठमाडौंबाट साउदीको दम्माम पुर्‍याउन क्वारेन्टिनसहित हवाई भाडाको प्याकेजवापत  एक जनाबाट उठाउने न्‍यूनतम रकम एक लाख ७० हजारबाट सुरु हुन्छ। 

पहिले नै वैदेशिक रोजगारीमा गएर बिदामा नेपाल आएका धेरैजना गत वैशाख १६ निषेधाज्ञा लागेसँगै फिर्ता जानबाट रोकिए। अन्तरराष्ट्रिय उडान रोकिएपछि त्यसरी बिदामा आएका धेरैको वर्क परमिट र भिजा अवधि सकिन लागेको छ। त्यस्ता धेरै कामदारले निषेधाज्ञाका बाबजुद वर्क परमिट र भिजा अवधिभित्रै रोजगार गन्तव्य मुलुक पुग्नका लागि ट्राभल एजेन्सीहरुले मागे जति पैसा तिर्न बाध्य भएका छन्।

चार्टर सेड्युल भएको दिनको फ्लाइटमा सुरुमा सीट छैन भन्दै टिकट मिलाउन दुई लाख रुपैयाँसम्म उठाएको पाइएको छ। चार्टर उडानमा मनपरी भाडा लिइएको बारेमा साउदी अरबस्थित नेपाली दूतावासमा समेत उजुरी परेको छ। तर अहिलेसम्म कुनै कारवाही भने भएको छैन।

दूतावासका उपनियोग प्रमुख दिलिप पौडेलका अनुसार हवाई भाडा महँगो भएको भन्दै उजुरी आएको स्वीकार गरे। ‘हामीसँग महँगो भाडा लिएको भनेर उजुरी आएको छ। मिहिन ढंगले अध्ययन हुँदैछ,’ साउदीबाट उनले टेलिफोनमा भने।


निषेधाज्ञाकै बीच वैदेशिक रोजगारीमा जान  लागेका नेपालीहरुको त्रिभुवन विमानस्थल टर्मिनलमा लाइन।


नियमित छाडेर चार्टरमा जोड 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले श्रमिकबाट लाखौं असुल्न वायुसेवा कम्पनीले नियमित छाडेर चार्टर उडानमा जोड दिइएको आरोप लगाउँछन्।

'नियमितभन्दा चार्टर उडान बढी हुँदै आएको छ। जसले देशको अर्थतन्त्र धानेको छ, उसैको श्रम पसिना खानकै लागि चार्टर उडान गर्नु बेइमानी हो,’ उनले भने, ‘विदेश जानेको आँशुमा समेत नाफा खोजेपछि कसको के लाग्छ?’ 

उनका अनुसार सरकारले समेत चार्टरमा कोरोना संक्रमण नहुने र नियमितमा हुने जस्तो गरेर श्रमिकलाई मारमा पारेको छ। नियमित उडान खुल्दा प्रतिस्पर्धामा टिकट पाउने र कम मूल्य पर्ने जिकिर गर्दै बस्नेतले भने- ‘चार्टर भनेकै कार्टेलिङ हो। जति मुनाफा खाएपनि खाउ भनेर छुट दिएकाले यस्तो अवस्था आएको हो।’ टिकटमा यात्रुको सहज पहुँच नहुँदा लुटतन्त्र चलेको उनको टिप्पणी छ।

'एक त भाडादर महँगो छ। उडान समयतालिका र भाडादर यात्रुको पहुँचमा छैन। यसो भएपछि विचौलियामार्फत टिकट खरीद बिक्री हुँदा लागु गरेको भाडादरभन्दा बढी असुल हुँदै गएको पाइएको छ,' बस्नेतले भने। चार्टर उडान गर्दा भाडादर पनि तोक्ने व्यवस्था नगर्दा लुटतन्त्र भएको उनी बताउँछन्। 
 

वायुसेवा प्रदायक भन्छन् - 'महँगो होइन’

श्रमिकहरुले मारमा परेको गुनासो गरिरहँदा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने होटल क्वारेन्टिनसहित डेढ लाख भाडा निर्धारण गरिएको बताउँदै कोभिडको समयमा महँगो भाडा नलिएको जिकिर गरे। 

‘होटल क्वारेन्टिनको ९० हजार रुपैयाँ, भाडा ५० हजार रुपैयाँ र ट्याक्स जोड्दा डेढ लाख रुपैयाँ पर्छ,’ उनले भने, ‘टिकट पनि ग्लोबल डिस्ट्रिब्युसन सिस्टममार्फत प्रतिस्पर्धामै बिक्री गरिएको छ।’श्रेष्ठकै अनुसार, डेढ लाख सुरुवाती भाडा हो। यो कमै यात्रुले मात्र पाउँछन्।


हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठ ।


'हाम्रो सुरुवाती भाडादर ४० देखि ५० हजार रुपैयाँ हो। दम्मामतिर होटल महँगो छ। हामीसँग लो, एभरेज र हाइलगायत तीन किसिमका फेयर छन्। अधिकांश यात्रुले एभरेज फेयरकै लिँदै आएका छन्,' श्रेष्ठले भने।

नियमित उडान खुल्ने टुंगो छैन

सरकारले केही श्रम गन्तव्य मुलुकमा नियमित उडान खोल्ने भने पनि अहिलेसम्म त्यसको चाइँचुँई छैन। नियमित उडान खोल्दा चार्टरका नाममा भइरहेको ब्रम्हलुट रोकिने भएकाले सरकारका निकायहरुले समेत कागजपत्रमै धेरै समय लगाइरहेका छन्। 

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसपछि तीन श्रम गन्तब्य मुलुकमा नियमित उडान खोल्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको थियो। तर अहिलेसम्म पनि पत्र नआएको भन्दै नियामक निकाय हात बाँधेर बसेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नियमित उडानका लागि आधिकारिक पत्र नआएको बताउँदै उडान खोल्ने बारेमा केही भन्न नसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell