'घर आउँदैनस् त छोरा?'
मंगलवार साँझ आमाले फोन गर्दै सोध्नु भयो। उहाँको बोलीमा डर र त्रास दुवै एकसाथ घोलिएको थियो।
'सबै बगाउन लागिसक्यो! बगरका मान्छे पनि माथितिर सर्न थालिसके।'
म एकाएक आत्तिएँ। न गाउँ नै बगायो कि!
तर नजिकै कुनै खोला छैन। छेउकै खोल्सोले त बगाएन होला नि! आशंकाहरु उम्लिए।
'के भो र आमा?'
'खोला बढेर वारपार भा'को छ। हाइड्रोपावर बगायो रे! मेलम्चीतिर केके भो भन्छन्।'
असार १ गते साँझ। हेलम्बुको भेम्राथाङमा पहिरो गयो। खोला थुनियो र एक्कासी फुट्यो। त्यो बेगले तलतिर हुँडलिँदै झरिरह्यो। अनि अन्धधुन्ध पस्यो बजारतिर। अनि बजार बन्यो बगर। त्यसै दिन इन्द्रावती पनि अविरल रुपमा उर्लेर आयो। त्यसैगरी आत्तिदै आएको थियो आमाको फोन।
पहिरो झरेर रोकिँदा उर्लिएर आएको नदीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको हेडवर्क्स नै नाघेछ। गेटसँगै माथिल्लोपट्टि कर्मचारी बस्न बनाएको टहरा बगाएछ। गत वर्षको पहिरोले आधा पुरेको तिपेनी बजारका मान्छेहरु कम्ति आत्तिएनन्! खोलाले ल्याएको मुढा र ढुङगाको आवाजले जमिन नै थर्काएपछि भागाभाग चलेको रहेछ। त्यही खबर आमाले थाहा पाउनुभएछ।
आमाको फोन आएको एकै छिनमा एक जना विदेशमा बस्ने साथीले 'प्रे फर सिन्धुपाल्चोक' भनेर मेसेज गर्नु भयो। यस्तै खालका पोष्टहरु सामाजिक संजालमा छ्यापछ्याप्ती देखिन थाले। सँगै काम गर्ने नेत्र तामाङ दाइलाई सोधेँ - उहाँले पनि खोला बढेर आएका कारण क्षति पुगेको सुनाउँदै मेलम्चीतिर सम्पर्क गर्न थालिरहेको बताउनुभयो।
केहीबेरमा समाचारहरु तछाडमछाड गरेर आउन थाले - बाढीको भेल झैं। हरेक समाचारले अत्याइरह्यो। बाढी आउँदा मेलम्चीको तल्लो तटीय क्षेत्र बेहाल भएको खबर लिइरहँदा अबेर रात भइसकेको थियो। चिनेजानेका साथीहरुसँग सम्पर्क गर्ने प्रयास गरिरहेँ रातभर। अह! सम्पर्क नै भएन। बत्ती गएको र नेपाल टेलिकमको टावरले काम गर्न छाडेको रहेछ।
बिहान सामाजिक संजालहरु भरिएका थिए - बगर बनेको मेलम्चीको तस्बीर। धेरैले लेखेका थिए मेलम्चीभन्दा बेहाल छ - हेलम्बु। डरलाग्दा समाचारहरु सबैतिर छ्यापछ्याप्ती।
+++
एम्बुलेन्सको पट्यार लाग्दो साइरन।
छिन छिनमा उडिरहेछ हेलिकप्टर। कहिले राहत बोकेर त कहिले उद्धार गरिएका घाइते।
तेस्रो दिन मेलम्ची आइपुग्दा अत्यास नै लाग्यो – मानौं कुनै छाँगाबाट झर्दै छु।
पानी नै नदेखिने गरि लेदो बनेको खोलाले धार कहिले यता हिर्काउँछ त कहिले उता। बस्तीतिर आउँदा एकाएक कोलाहाल नै मच्चिन्छ। पुरानो धारतिर फर्किदा मानिसहरु राहतको महसुस गर्छन्। एक हिसाबले हुन्छन् शान्त। तर, शान्त देखिने मानिसहरुको मनस्थिति हुँडलिएको छ नमीठो गरी।
नहोस् पनि किन? तीन तलासम्म घर पुरिएको छ। सानातिना टहराको नामोनिशाना छैन। केही घर नै हिलोमा गाडिएका छन्। केहीका छत देखिन्छ। बाढी आएको तीन दिनसम्म पनि अझै के भएको हो भन्ने थाहा नै नभएको जस्तो गरि एक तमासले बगर बनेको बजार हेरेर टोलाइरहेका छन् मानिसहरु। सेना, प्रहरी, सशस्त्र प्रहरीको सयुक्त टोलीले जोखिम भएका घरहरुको सामान झिकेर सुरक्षित स्थानतर्फ लगिरहेका छन्।
शुक्रवार विहान मेलम्ची पुग्दा मिडिया र सामाजिक संजालमा देखे सुनेभन्दा भयानक दृश्य सामुन्ने भइरहेको थियो। मेलम्ची जहीँको तहीँ थियो तर त्यसको अस्तित्व नामेट। इन्द्रावतीको सुन्दरता बिलाएर बाँकी थियो त एउटा कुरुप अस्तित्व मेलम्चीको।
तीन दिनदेखि नदीको कटान रोकिएको थिएन। खोलामा पानी नै नदेखिने गरि लेदो बगेको छ। त्यसको धार कहिले यता त कहिले उता। बजार पूरै खण्डहर। आमा ह्योल्मो बसपार्कको नक्सासमेत देखिन्न। त्यहाँ अड्याइएका बस र ट्रक नदीले निलिसकेछ। पिकनिक मनाउन जाने सिटी पार्क कता पुग्यो नामोनिसान भेटिन्न। यी सबै दृश्यले मन कुँडियो। क्षति कति भयो भन्ने समेत पत्तो नलाग्ने गरि संरचनाहरु 'स्वाहा' भएको रहेछ।
+++
मेलम्ची र इन्द्रावतीको संगम हो दोभान। दोभानमा भेट भएपछि मेलम्ची मिसिएर इन्द्रावती अझ ठूलो बन्छ। दोभानबाटै सुरु हुन्छ बजार। हाम्रो बेल्टको सबैभन्दा ठूलो बजार हो मेलम्ची। किनमेलदेखि घुम्ने ठाउँसम्म। पाँचपोखरी बस्ने हाम्रा लागि काठमाडौं सरहकै ठाउँ। किताबदेखि लत्ता कपडासम्म किनमेलसम्मको थलो भएकाले यो बजारसँग भावनात्मक नाता जोडिइरह्यो। बाल्यकालदेखिका अनगिन्ति किस्साहरु यही बजारसँग जोडिएको छ। नजोडियोस् पनि किन?
ममात्र हैन भोताङ बरुवादेखि हेलम्बु, इन्द्रावतीसम्मका मानिसलाई 'घर कहा हो?' भनेर सोध्यो भने सिधै जवाफ हुन्छ - 'मेलम्ची'। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले देशभरि चिनाएको नाम। त्यही नामको प्रभाव हो – हामी ठेगाना सुनाउँदा भन्छौं मेलम्ची।
मेलम्ची पाँचपोखरी थाङपाल गाउपालिकासँग जोडिएको छ। तर, बजारबाट ६ किमीमा मात्रै गाउँपालिका र नगरपालिकाको सिमाना छुट्टिन्छ। मेलम्चीबाट पाचपोखरी, इन्द्रावती जाने पक्की पुल नै बगाएको छ। सँगैको झोलुङगे पुल पनि। केही माथि रहेको अर्को झोलुङ्गे पुलभन्दा माथि इन्द्रावती हिँडेको छ। मेलम्ची बजारको २५ प्रतिशतभन्दा बढी भाग इन्द्रावतीसँगै बगिसकेको छ। बाँकी हिस्सामा पनि बालुवाले पुरेर बनाएको छ - अन्जान बगर।
दुवै गाउँपालिका र नगरपालिकाको ज्यामिरेसँग सडक सम्पर्क टुटेको छ। डुबेको पुलबाट जोखिम मोलेरमात्रै आवातजावत गर्न सकिन्छ। ठाउँठाउँमा सडक बगाएका कारण गाडी चल्ने आशा पनि गर्न सकिन्न। यस्तोमा कोही विरामी परे अस्पताल पुर्याउने आधार मेटिएको छ। भर्खरै असार लाग्दा यस्तो हालत छ भने बर्खा सकिँदासम्म के के बेहोर्नपर्ने हो कुन्नी? सम्झिँदै अत्यास लाग्छ।
+++
सिन्धुपाल्चोकको भुगोल जोखिमयुक्त छ। ठूला विपत्तीहरु परिरहन्छ। भूकम्पले सबैभन्दा धेरै विनास यहीँ गर्यो। भूकम्पको घाउमा खाटा लागिसक्न नपाउँदै जुरेमा पहिरो गयो। फेरि मेलम्चीले क्षतविक्षत बनायो। यस्ता प्रकोपको पर्याय बनेको छ सिन्धुपाल्चोक। पीडाको यो पहिचान धेरैलाई थाहा पनि छ। मेलम्चीको हालत देखिरहँदा झलस्स भयो एक वर्ष अघिको एउटा सानो प्रसङ्ग।
जिन्स किन्नु थियो। कलंकी चोककै एउटा पसलमा छिरेँ। पाइन्ट छानिरहँदा पसले र अर्का पसले बिच गफ चलिरहेको थियो। पसलमा मैले एउटा पाइन्ट रोजेँ र मूल्य सोधेँ। पसलेले राखेको दाम केही महँगो महसुस भयो र भाउ घटाउन भन्दै अरु छान्नतिर लागेँ।
गफ गरिरहेका पसले भर्खरै सिन्धुपाल्चोकबाट फर्किएको हुनुपर्छ। मैले भाउ घटाउन भनेपछि उनले भने, 'जति मूल्यमा जसलाई बेचे पनि बेच्नोस्। तर, सिन्धुपाल्चोकका मान्छेलाई सय रुपैयाँ नि फाइदा नलिनुस्। पाप लाग्छ!'
म अचम्ममा परेँ। चिनजानका होइनन् दुवै। ती पसले रोकिएनन्। थपे, 'भीर जस्तोमा बस्छन्, ज्यानै माया मारेर! तिनीहरुको आज कि भोलिको अवस्था छ। मलाइ त देख्दै डर लाग्यो।'
एकाएक म झसङ्ग भएँ। कतै मलाई नै भनिरहेका त होइनन्? थाहा छ दुवैले चिन्दैनन् मलाई। निक्कै गफ्फिने स्वभावका पसलेले सोधिहाल्न भ्याए - 'भाइको घर कता पर्यो नि?'
त्यतिखेर मैले हाँसेर टारिदिएँ।
हाँसेर टारिदिने मेरो शैली साथीहरुबिच परिचित नै छ। तर, मैले हाँसेर टारे पनि उनीहरुले जे गफ गरिरहेका थिए त्यही थियो मेरो पहिचान। जोखिमपूर्ण जिल्लाको निरिह नागरिक। कहिल्यै नदेखिएको मेलम्चीको मुहार देख्दा उनीहरुको कुरा झलस्स हुन पुगेको थियो।
+++
भेम्राथाङको पहिरो। त्यसले उग्ररुप लियो मेलम्ची नदीमा। यसको तटीय क्षेत्रका हेलम्बु गाउँपालिकाका पुल, बस्ती र खेतहरु बगाउँदै तल मेलम्चीसम्म आइपुगेको हो। अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पूरै डुबाउँदै कामदार बस्ने क्याम्पलाई पनि बगर बनाएछ। त्यहाँका पाँच जना कर्मचारीलाई कहाँ पुर्यायो अझै पत्तो छैन। साइटमा कति क्षति भयो बुझ्नका लागि आयोजनाका कर्मचारी नै जान सकेका छैनन्। त्यसै दिन परीक्षणका लागि भनेर बन्द गरिएको मेलम्ची ठूलो दुर्घटनाबाट बचेको छ। तर, पुन: राजधानीवासीको तिर्खा मेटाउन कहिले आउने भन्ने टुङगो छैन। आयोजना लम्बिने निश्चित छ। मेलम्चीभन्दा माथितिरका मानिसहरुको भोगाई अझै दृश्यमा आइसकेको छैन। कठिन मोडमा यस क्षेत्रले यतिखेर संघर्ष गरिरहेको छ। इन्द्रावतीसँगै मानिसहरुको आँशु बगेको छ। तर, यति चाहिँ थाहा छ जतिसुकै कठिनाई सामना गर्न परे पनि – मेलम्ची उठ्छ। मेलम्ची आयोजना पनि उठ्छ। र, काकाकुल काठमाडौंको प्यास मेट्छ।