काठमाडौंः १५ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय जयराम चौलागाईलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
असार ५ गते बिहान बालिकाकी आमाले छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएकी थिइन्। त्यसपछि प्रहरीले बालिकाको खोजी गरेको थियो। खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले असार ६ गते काठमाडौंको सुन्धराबाट उनलाई फेला पारेको थियो।
फेला परेकी बालिकाले आफूलाई डर त्रास देखाएर जबर्जस्ती करणी गरेको बताएपछि प्रहरीले जयरामको खोजी गरेको थियो। ६ गते प्रहरीले जयरामलाई पक्राउ गर्न सफल भएको हो। बालिकाले असार ५ गते खाजा खान भन्दै युवकले भक्तपुरको एक गेस्ट हाउसमा लगेर धम्की दिएर जबर्जस्ती करणी गरेको बयान दिएकी छिन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।