PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

दीपक मनाङेको शीर्ष नेतासँगको भेटको रहस्य के? 'अब चुनाव नलड्ने' भन्दै यस्तो दिए जवाफ



सविन ढकाल

दीपक मनाङेको शीर्ष नेतासँगको भेटको रहस्य के? 'अब चुनाव नलड्ने' भन्दै यस्तो दिए जवाफ

काठमाडौं : आइतवार गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले आइतवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे। मनाङेले प्रचण्डलाई भेटेको फोटो सार्वजनिक हुनासाथ सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरु कटाक्ष गर्न उत्रिहाले।

यसरी कटाक्ष गर्न उत्रिनेमा प्रधानमन्त्रीका सल्लाहकारसमेत थिए। र, उनीहरुको कटाक्ष देख्दा लाग्थ्यो - मनाङेलाई पहिलो पटक उनीहरुले राजनीतिमा देख्दैछन्। यसै विषयलाई लिएर सोसल मिडियामा उनीमाथि खिसिटिउरी जारी नै छ।

आइतवार एक्कासी माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न पुग्नुमा उनी माओवादी केन्द्रतिर जान लागेका त होइनन् भन्ने धेरैले आशंका पनि गरे।

'होइन। कुनै पनि पार्टी परिवर्तन गर्न खोजेको छैन। किन मैले पार्टी चेन्ज गर्नु पर्‍यो?,' यिनै आशंकाहरुलाई लिएर हामीले प्रश्न गरेपछि मनाङेले भने।

उनले पार्टी परिवर्तन होइन, दुई वर्षपछि राजनीति नै छोड्ने दावी समेत गर्न भ्याए।

'मेरो अब डेढ वर्ष अवधि हो। त्यसपछि म चुनाव लड्दिन। जीबी दाइ जुन पार्टीबाट चुनाव लड्छन्। उसलाई नै दिने हो,' मनाङेले भने।

मनाङेको यसपालाको भेटलाई लिएर माओवादी अध्यक्षले गुन्डागर्दी धरातलबाट आएको मानिसलाई भेट गरेको भन्दै आलोचना गरिरहे। त्यसो त दीपक मनाङे मनाङबाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी भएका थिए। आफ्नो उम्मेदवारलाई बसाएर मनाङेलाई नेकपा एमालेले नै काँध थापेर चुनाव जिताएको थियो।

चुनाव मात्र होइन एमालले नै दीपक मनाङेलाई पहिलो पटक मन्त्री समेत बनायो। गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले आफ्नो पद जोगाउन ६० जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाको मत आवश्यक पर्दा एक मतको भार उनै दीपक मनाङेले थामिदिएका थिए। गुरुङले वैशाख १६ गते आफ्नो पद जोगाउन दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए। त्यसको १० दिनपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएर नयाँ प्रकृयाबाट मुख्यमन्त्री भए। त्यसपछि पनि दीपक मनाङेलाई मन्त्री बनाइयो।

तर, ३० दिनपछि मुख्यमन्त्री सुब्बाले विश्वासको मत लिए। त्यतिखेर भने दीपक मनाङेले उनको साथ छोडिदिए। उनले विश्वासको मत पाएनन्। विपक्षी गठबन्धलाई सघाउन पुगे मनाङे। नभन्दै विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भए। अहिले मनाङे उनै मुख्यमन्त्रीका क्याविनेट सदस्य छन्।

तर, रोचक के छ भने एमालेले नै आफ्ना जुझारु कार्यकर्ताको टिकट खोसेर मनाङेलाई मन्त्रीसम्म बनाए पनि अहिले भने उसैका विरुद्ध अभिव्यक्ति दिनेक्रम जारी छ।

यतिसम्म कि, नेकपा एमालेले भने दीपक मनाङेको धोकाका कारण नै एमालेको सरकार गुमेको आरोप लगाएको छ। पृथ्वी सुब्बा गुरुङले नै 'अमृत भनेर धतुरोको बोटो रोपेको भन्दै मनाङेलाई व्यङ्ग्य गरेका थिए। त्यसैले पनि दीपक मनाङेको चर्चा जारी छ।

मनाङे अहिले काँग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध छन्। तर, मनाङेलाई नै हामीले कुन पार्टी हो तपाईँको भनेर सोध्यौं। उनले अहिले पनि आफू नेकपा एमालेतिरै रहेको दाबी गरे। तर, प्रधानमन्त्री केपी शर्मा ओली नभएर माधवकुमार नेपाल तिरको एमालेमा भएको उनको तर्क रह्यो।

'म डुब्लिकेट एमालेमा होइन, माधव नेपालको ओर्जिनल एमालेमा छु। मलाई सबै पार्टीका सिनियर लिडरले सहयोग गर्नुभएको छ। त्यसैले भेटेको हूँ,' मन्त्री मनाङेले पार्टी र नेतासँगको भेटघाटबारे भने।

अहिलेको बाढी पहिरोमा मनाङ उत्तिकै चर्चामा छ। त्यहाँको एउटा सिंगो बस्ती बाढीमा परेको छ। त्यही जिल्लालाई प्रतिनिधित्व गर्ने उनी डेढ वर्षभित्र नै मनाङको विकास गरिसक्ने दाबी गर्छन्।

'अहिले सबै विकास हुन्छ। त्यसपछि के बाँकी रहन्छ र म फेरि चुनाव लड्न?,' राजनीति छाड्ने आधारलाई उनले यसैगरी पेश भने।

त्यसो त दीपक मनाङेले यसअघि जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईलाई समेत भेटेका थिए। त्यस समय पनि सामाजिक सञ्जालमा बाबुराम भट्टराईलाई लिएर निक्कै आलोचना भएको थियो। त्यसो त उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटिसकेका छन्।

अध्यक्ष दाहाललाई भेट्नुको थप कुनै कारण थियो कि भन्ने प्रश्नमा उनले ठट्यौली पारामा जवाफ दिए। 'मनाङलाई स्विट्जरल्यान्ड बनाइदिन्छु भन्नुभएको थियो। त्यही विषयमा छलफल गर्न गएको हो,' व्यङ्ग्यात्मक अभिव्यक्तिपछि मनाङे थप खुले, 'खासै कुरा केही पनि होइन। यसो भेटघाट गर्न गएको थिएँ। उहाँलाई मात्र होइन अरु नेतालाई पनि भेटिरहेको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell